
समाचार सारांश नेपाली कांग्रेसले काभ्रे जिल्लाको धुलिखेलमा दुई दिने बागमती प्रदेशस्तरीय भेला सम्पन्न गरी ३३ बुँदे “बागमती संकल्प” गरेको छ। भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता र जवाफदेही सरकारको पक्षमा काम गर्ने पहिलो संकल्प गरेको छ। कांग्रेसले आगामी दिनमा मधेश, कोशी र लुम्बिनी प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। ५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशस्तरीय भेला ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको छ। काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको दुई दिने ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मंगलबार ३३ बुँदे ‘बागमती संकल्प’ गर्दै सम्पन्न भएको हो।
भेलाले संविधानप्रदत्त नागरिक स्वतन्त्रता, हक र अधिकारलाई संरक्षण गर्दै नागरिकमुखी नीतिमार्फत उत्तरदायी र जवाफदेही सरकारको रूपमा थप प्रभावकारी ढंगले कार्य गर्ने पहिलो संकल्प गरेको छ। असल शासन, विधि र जवाफदेहीतालाई एकअर्काका परिपूरकका रुपमा लिँदै विधिमा टेकेर मात्र निर्णयहरू गर्ने मान्यतामा दृढ रहँदै भेलाले पछिल्ला दिनमा संघीय सरकारबाट भइरहेका अलोकतान्त्रिक र अमर्यादित कार्यप्रति चिन्ता व्यक्त गरेको छ। ‘संघीय सरकारलाई संविधानको मर्म र भावना, विधि प्रक्रिया, नागरिकको आत्मसम्मान र मानवीयतालाई केन्द्रमा राख्न ध्यानाकर्षण गराउने,’ भेलाको दोस्रो संकल्पमा उल्लेख छ।
कांग्रेसको नेतृत्वमा बागमती प्रदेश सरकार र स्थानीय सरकारले सुरु गरेका असल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई सूचीबद्ध गरी नागरिक पंक्तिमा पुर्याउने र एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने भेलाले निष्कर्ष निकालेको छ। ‘संघीयता र संविधानको मर्मबमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको ‘तीन स’ अनुरुप समुन्नतिको मार्गमा अगाडि बढ्न संघीय सरकारलाई अपिल गर्दै त्यसमा आफू समर्पित रहने संकल्पको ३२ औं बुँदामा भनिएको छ।
पार्टीको संगठन सुदृढीकरण गर्न र डिजिटल अभिलेखमार्फत् सदस्यको योगदानलाई लिपिवद्ध गर्न साथै पार्टी अभियानमा आम सदस्यलाई सिधै जोड्न ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा थप सक्रिय रहन पार्टी पंक्तिलाई प्रेरित गर्ने र समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने संकल्प पनि भेलाले गरेको छ। भेलामा बागमती प्रदेश सभा सदस्यहरू, स्थानीय सरकार प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र एवं स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कांग्रेसले ६ र ७ जेठमा महोत्तरीको बर्दिबासमा मधेश प्रदेशस्तरीय, ८ र ९ जेठमा सुनसरीको लौकीमा कोशी प्रदेशस्तरीय तथा १४ र १५ जेठमा रूपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेशस्तरीय भेला गर्ने कार्यतालिका तय गरेको छ। सुदूरपश्चिमको धनगढीबाट सुरु भएको कांग्रेसको ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ यसअघि गण्डकी र कर्णाली प्रदेशमा आयोजना गरिएको थियो।

