प्लास्टिक बोतल सङ्कलन गर्ने ‘प्यारो’ कुकुरलाई विष खुवाएर मार्ने योजनाबारे चासो

५ जेठ, काठमाडौं । दक्षिण चीनमा प्लास्टिकका बोतलहरू सङ्कलन गरेर चर्चित बनेको एक फ्रेन्च बुलडग कुकुरलाई विष खुवाएर मार्न खोजिएको आशङ्कामा एक जनालाई मालिकले प्रहरीलाई जानकारी गराएका छन् र त्यसपछि उक्त व्यक्ति पक्राउ परेका छन्। ‘सियाओबाइ’ भन्ने उपनामबाट चिनिएको त्यो फ्रेन्च बुलडग कुकुर गत वर्ष सडकमा मिहिनेतपूर्वक प्लास्टिकका बोतलहरू सङ्कलन गर्दै लाखौं मानिसको मन जित्न सफल भएको थियो। यसका मालिक झाङले विगत पाँच वर्षमा सियाओबाइले सङ्कलन गरेका बोतल बिक्री गरेर १ लाख युआनभन्दा बढी आम्दानी गरेको बताएका छन्। याङचेङ इभिनिङ न्युजका अनुसार, सियाओबाइको सोसल मिडिया अकाउन्ट @gouxiaobai मा ५ लाख फलोअर्स छन् र ती कुकुरका केही भिडियो १ करोड भन्दा बढी पटक हेरिएका छन्।
झाङले बताएअनुसार, मे ७ को दिउँसो एक “दयालु” इन्टरनेट प्रयोगकर्ताले उनलाई एउटा समूहको स्क्रिनसट पठाएका थिए जुन समूहमा मानिसहरूले सियाओबाइलाई विष खुवाएर मार्ने योजना बनाइरहेका थिए। सो समूहका सदस्यहरूले झाङको घरको ठेगाना सेयर गरेका थिए र क्षयरोग उपचारमा प्रयोग हुने ‘आइसोनियाजिड’ नामक औषधि मार्फत कुकुरलाई मार्ने योजना बनाएका थिए। यस औषधिले जनावरहरूको स्नायु प्रणालीमा असर पुर्याउँछ र अन्ततः श्वासप्रश्वास प्रणाली विफल भएर मृत्यु हुन्छ। त्यही दिन साँझ सेतो लुगा लगाएको र छाता बोकेको एक व्यक्ति झाङको घरबाहिर शङ्कास्पद तरिकाले घुमिरहेको र फोटो खिचिरहेको देखिएको थियो। झाङले तत्काल त्यस एनिमल एब्युज ग्रुपको च्याट रेकर्डसहित शङ्कास्पद व्यक्तिको सिसिटिभी फुटेज प्रहरीले बुझाए।
प्रहरीले दिएको जानकारी अनुसार मे ८ मा ती शङ्कास्पद व्यक्तिहरू पक्राउ परेका छन् र अनुसन्धान जारी छ। पक्राउ हुनु अघि झाङले सियाओबाइलाई विष खुवाउन सक्ने डरले कुकुरलाई घरभित्रै थुनेर राख्न बाध्य भएका थिए। उनले बताएअनुसार, त्यो समयमा कुकुर निकै निराश देखिएको थियो। पछि जब पुनः बाहिर निस्कन पाएपछि, सियाओबाइ फेरि पहिले जस्तै फुर्तिलो भएर बोतल सङ्कलनमा फर्किएको छ। झाङले आफ्नो नयाँ भिडियो क्लिपमा भनेका छन्, “सियाओबाइ फेरि काममा फर्किएको छ र निकै आत्मविश्वासी देखिन्छ। जनावरहरूप्रति दुर्व्यवहार गर्नेहरू समाजका फोहर हुन्। उनीहरूले मारेका जनावरहरूको बदला लिन म यो समूहविरुद्ध लड्न प्रतिबद्ध छु।” यो घटनाले सोसल मिडियामा ठूलो चासो पाएको छ। एक अनलाइन प्रयोगकर्ताले भनेका छन्, “म आशा गर्दछु कि प्रहरीले विष खुवाउनेहरूलाई कठोर सजाय दिनेछ। यस्तो दुष्ट कामहरूले तिनीहरूलाई नै नराम्रो नतिजा दिनेछ।” अर्का एकले भने, “कुकुर कति प्यारो र दयालु छ, उसले कसैलाई पनि कष्ट दिएको छैन। तर खराब मानिसहरूले उसलाई निशाना बनाए। उनीहरूको सोच कति विकृत छ!

