Skip to main content

विशेष महाधिवेशनको विपक्षी सबैलाई थापाको नेतृत्वमा अघि बढ्न आग्रह : यादव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन्। यादवले पार्टीभित्र विभिन्न भेला गर्न आवश्यक नभएको र पूरा मधेस एक झुण्ड भएर क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने बताए।

पूर्व सभापति देउवा र नेता कोइरालाका निकटका १९ जनालाई सभापति थापाले केन्द्रीय सदस्य मनोनित गरेका छन्। महोत्तरीको बर्दिवासमा आयोजित दुईदिने प्रदेशस्तरीय कार्यक्रममा यादवले भने, ‘पार्टीभित्र अब यो भेला त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न। अब विशेष महाधिवेशनमा सहभागी नभएका हामी अरु जो थियौं, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौं।’

पूर्व संस्थापन समूहमा रहेका यादवले तत्कालीन महामन्त्री थापाले चुनाव अघि हुने गरी महाधिवेशनको कार्यतालिका ल्याउँदा त्यसको काउन्टरमा निर्वाचनपछिको कार्यतालिका ल्याएको जानकारी दिनुभयो। विशेष महाधिवेशनको विपक्षमा रहेका यादवलाई सभापति थापाले चुनावी टिकट दिएका थिए। कांग्रेसको एउटा पक्षले क्रियाशील सदस्यता अद्यावधिक गर्न अस्विकार गरिरहेको बेला पूर्व संस्थापनका नेताले भने, ‘क्रियाशील सदस्यता अद्यावधिक गर्न अब सबै जुटेर लागौं। पूरा मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लागौं।’