
आठवटा विश्वविद्यालयका उपकुलपतिका लागि २१८ जनाले आवेदन दिएका छन्। शिक्षा मन्त्रालयका अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ गरी जम्मा २१८ जनाको आवेदन परेको छ। उक्त सूची मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो।
गत २५ वैशाखमा नयाँ उपकुलपतिका लागि १० दिनको खुला आह्वान गरिएको थियो। अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ उपकुलपति चयन प्रक्रियामा लागिएको हो। उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको छ। सीमासिर समिति विज्ञ उपसमिति गठन गरी नाम छनोट गर्नेछ। यसको लागि नयाँ कार्यविधि पनि जारी गरिएको छ।
उम्मेदवारको मूल्यांकनमा शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टिकोण, कार्ययोजना र प्रस्तुतीकरणको आधारमा प्रारम्भिक मूल्यांकन गरी उच्च अंक प्राप्त गर्ने १० जनाको सर्टलिष्ट सार्वजनिक गरिनेछ। त्यसपछि सार्वजनिक राय-सुझाव संकलन गरिनेछ। अन्ततः प्रस्तुतीकरण र अन्तर्वार्ताको चरण हुनेछ। उम्मेदवारले विश्वविद्यालय सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिका लागि रणनीति प्रस्तुत गर्नुपर्नेछ।
उपकुलपति बन्न विद्यावारिधि आवश्यक छ। कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र, कुनै राजनीतिक दलको सदस्य नभएको र लेखनमा बौद्धिक चोरी नगरेको स्वघोषणा अनिवार्य छ। उम्मेदवारको उमेर न्यूनतम ४० वर्ष पूरा भएको हुनुपर्नेछ र सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नभएको हुनुपर्नेछ। राजनीतिक भागबण्डा र पहुँचको आधारमा उपकुलपति नियुक्ति हुने छैन।

