Skip to main content

इरान युद्धमा अमेरिकाका ४२ वटा हवाई जहाज र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च

समाचार सारांश समीक्षापछि प्रस्तुत। इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकी सेनाका ४२ वटा विमान र ड्रोन ध्वस्त वा गम्भीर क्षतिग्रस्त भएका छन्। अमेरिका र इजरायलले इरानमा सत्तापलट गर्ने योजना बनाएका थिए, जसमा पूर्वराष्ट्रपति अहमदिनेजादलाई नेताका रूपमा अघि सार्ने योजना थियो। अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०-४७ मतले पारित गरेको छ, जसले युद्ध जारी राख्न कङ्ग्रेसको अनुमति आवश्यक पार्नेछ। ७ जेठ, काठमाडौं। इरानविरुद्ध संचालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ। अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ। कस्तो-कस्तो विमानमा क्षति भयो? नष्ट भएका विमानहरूमध्ये ६ वटा फाइटर र अट्याक जेट रहेका छन्, जसमा एक एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एक ए-१० थन्डरबोल्ट-२ समावेश छन्। अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ-१५ई जेट खसालेको थियो। सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ। कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन्। यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन्। इरानमा सत्तापलटको योजनान्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानको परमाणु र क्षेप्यास्त्र क्षमता कमजोर बनाउन मात्र युद्ध गरेका थिएनन्, उनीहरूको योजना सत्तापलट गर्ने पनि थियो। नयाँ नेताका रूपमा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई अघि सार्ने योजना थियो। युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको थियो। यसको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गर्नु थियो, तर उनी बच्न सफल भए। त्यसपछि इजरायल र अमेरिका सत्तापलटको योजनाबाट पछि हटेका हुन्। इरानी सेना र सर्वोच्च नेतासँगको बिग्रँदो सम्बन्धका कारण अहमदिनेजाद कैयौँ वर्षदेखि नजरबन्दमा छन्। रिपोर्टका अनुसार, सत्तापलटका लागि तय गरिएको ३ चरणको योजना थियो। पहिलो चरणमा लगातार हवाई आक्रमण गर्ने, इरानका सर्वोच्च नेताहरूलाई निशाना बनाउने र कुर्द लडाकुहरूलाई सक्रिय गर्ने अमेरिकी रणनीति समावेश थियो। दोस्रो चरणमा इरानी सत्ताले नियन्त्रण गुमाउँदैछ भन्ने सन्देश दिन इजरायलले अराजकता र युद्धको माहोल सिर्जना गर्ने योजना थियो। तेस्रो चरणमा पूर्वाधारमा क्षति पुर्‍याउने, ग्यास र बिजुली आपूर्ति रोकेर राजनीतिक दबाव बढाउने र त्यसपछि अहमदिनेजादलाई सत्तामा ल्याउने अमेरिकी योजना थियो। यसैबीच, अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०-४७ मतले पारित गरेको छ। चार जना रिपब्लिकन सांसदले पनि ट्रम्पको विपक्षमा मत दिएका छन्। यदि यो कानुन बन्यो भने इरानविरुद्ध युद्ध जारी राख्न ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ। उता, अमेरिकी कोस्टगार्ड एकेडेमीमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन्। अब अमेरिकाले कारबाही पूरा गर्ने वा इरानसँग सम्झौतामा पुग्ने कुरा मात्र बाँकी रहेको उनले बताए। (एजेन्सीहरूको सहयोगमा)