Skip to main content

ट्रम्पको टिप्पणी: इजरायलमा नेतन्याहुमाथि उचित व्यवहार भइरहेको छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि इजरायलभित्र उचित व्यवहार नभएको बताएका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता ९९ प्रतिशत रहेको बताउँदै प्रधानमन्त्री पदको निर्वाचनमा पनि भाग लिन सक्ने उल्लेख गरेका छन्। उनले इरानसँगको युद्ध चाँडै समाप्त हुने र इरानले सम्झौता गर्न चाहेको बताए, साथै अमेरिकाले इरानलाई परमाणु हतियार बनाउन अनुमति नदिने स्पष्ट पारेका छन्। ७ जेठ, काठमाडौं।

ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता उच्च रहेको भन्दै आफू त्यहाँ प्रधानमन्त्री पदको चुनाव पनि लड्न सक्ने बताएका छन्। अमेरिका र इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै उनले यो टिप्पणी गरेका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको सम्भावित आक्रमण र आगामी रणनीतिबारे के कुराकानी भएको सोधेका थिए।

जवाफमा ट्रम्पले भने, ‘उनी (नेतन्याहु) मेरो आग्रह अनुसार नै काम गर्नेछन्। उनी धेरै राम्रो व्यक्ति हुन्। मेरो विचारमा इजरायलमा उनलाई उचित व्यवहार भइरहेको छैन। अहिले मेरो त्यहाँ लोकप्रियता ९९ प्रतिशत छ। म त्यहाँ प्रधानमन्त्रीको चुनावमा आफ्ना उम्मेदवारी पनि दिन सक्छु।’

नेतन्याहुसँग इरानबारे विस्तृत छलफल भएको बताएका ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने आफ्ना पूर्व दाबी दोहोर्याए। उनले भने, ‘हामी त्यो युद्ध छिट्टै अन्त्य गर्दैछौं। इरान सम्झौता गर्न इच्छुक छ। उनीहरू यसबाट थाकिसकेका छन्।’ तर उनले यो पनि स्पष्ट पारे कि कुनै पनि हालतमा अमेरिकाले इरानलाई परमाणु हतियार बनाउन अनुमति दिँदैन। रिपोर्टहरूका अनुसार, हाल अमेरिका र इरानबीच तनाव कम गर्न र वार्ता अघि बढाउन प्रयासहरू भइरहेका छन्, तर इजरायलले इरानविरुद्ध कडा र आक्रामक रणनीति निरन्तरता दिइरहेको छ।