सांसद डा. तोसिमा कार्कीले सरकारसमक्ष राष्ट्रिय ट्रमा नीति तुरुन्त बनाउन आग्रह गरिन्

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सडक दुर्घटनाबाट बचाउन राष्ट्रिय ट्रमा नीति तुरुन्त निर्माण गर्न सरकारलाई आग्रह गरेकी छिन्। उनले सडक दुर्घटनाका कारण धेरै नेपाली नागरिकको ज्यान जाने पीडालाई सम्बोधन गर्न नीति बनाएर छिटो कार्यान्वयनमा ल्याउनुपर्ने बल दिइन्। डा. कार्कीले सडक निर्माण गर्ने तर नागरिकलाई दुर्घटनाबाट जोगाउन नसक्ने सरकार नैतिक र नीतिगत दुवै हिसाबले असफल भएको पनि औँल्याइन्।
७ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल बनाउन सरकारले पहल गर्नुपर्ने माग उठाएकी छन्। बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले सडक दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परेको पीडालाई सम्बोधन गर्न सरकारले उक्त नीति निर्माण गरी तुरुन्त कार्यान्वयन गर्नुपर्ने बताइन्।
‘राज्यले कर उठाउँछ, सडक बनाउँछ। तर आफ्ना नागरिकलाई सडकमा दुर्घटनाबाट जोगाउन नसक्नु केवल प्रशासनिक कमजोरी मात्र नभई राज्यको नैतिक र नीतिगत पराजय हो,’ उनले भनिन्। ‘अघिल्ला सरकारले के गरे? कसरी गरे? कहाँ कमी छ भन्ने कुरामा हामी अचम्ममा छौं। तर नेपाली जनताले यस सरकारबाट ठूलो आशा गरेका छन्। अब फाइल अड्कियो, निर्देशिका थन्कियो भन्न सकिंदैन।’
उनले थपिन्, ‘सडक बनाउन सकिन्छ, तर नागरिकलाई दुर्घटनाबाट बचाउन नसक्ने सरकार नैतिक र नीतिगत दुवै दृष्टिले असफल हुन्छ। अब हामीले नेपाली जनतालाई भन्नैपर्छ: तपाईंहरूले कोभिडको खोप त लगाउनुभयो, तर सडकमा भैरहेको अघोषित महामारी रोक्नका लागि सरकारले नीतिगत खोप पनि दिनुपर्छ। हामी दिन तयार छौं। त्यसैले म अनुरोध गर्छु—आजैबाट राष्ट्रिय ट्रमा नीति निर्माण थाल्नुपर्छ जसले भविष्यमा हुने ठूला दुर्घटना र ज्यानमाथिका क्षति रोक्न सक्छ।’

