म्याद गुज्रिएको बेकरी बिक्री गरेको आरोपमा बेकर्स क्रिएसनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं खसीबजारस्थित बेकर्स क्रिएसन प्रालिलाई म्याद गुज्रिएका बेकरीहरू बिक्री गरेको फेला परेपछि २ लाख ५ हजार रुपैयाँ जरिवाना लगाएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर गरेको कारण सोही ऐनको दफा ३९ (१) (ख) अनुसार कम्पनीलाई तत्काल जरिवाना तिर्न लगाइएको हो।
बिहीबार अनुगमनका क्रममा उक्त बेकरीले म्याद गुज्रिएका बेकरी बिक्री गरिरहेको भेटिएपछि विभागले नगद जरिवाना लगाएको हो। अनुगमनका क्रममा विभागले अन्य १५ वटा उद्योग तथा फर्महरूलाई कारबाही र निर्देशन जारी गरेको छ। यसैगरी, सूर्यविनायकको जय श्रीकृष्ण डेरी उद्योग र शंखमुलको घिमिरे नमुना डेरीलाई व्यवसायसँग सम्बन्धित कागजातहरू सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अन्य १३ वटा फर्महरूलाई विभागले सचेत गराउँदै सामान्य निर्देशनहरू प्रदान गरेको छ।

