Skip to main content

सुर्खेत विमानस्थलमा निःशुल्क सटल बस सेवा विस्तार

सुर्खेत विमानस्थलबाट संचालन हुँदै आएको निःशुल्क सटल बस सेवा जेठ ८ गतेदेखि विस्तार गरी कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्चालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले यात्रुको सुविधाका लागि सटल बस सेवा विस्तार गर्न निर्देशन दिएका छन्। सटल बस सेवा विस्तारले विमानस्थलदेखि प्रमुख बजार क्षेत्रसम्म यात्रुहरूको सहज आवतजावत र निजी सवारीको महँगो खर्च कम हुने स्थानीय व्यवसायीले बताएका छन्।

कर्णाली प्रदेशको मुख्य हवाई प्रवेशद्वार सुर्खेत विमानस्थलबाट संचालन हुँदै आएको निःशुल्क सटल बस सेवा विस्तार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बिहीबार विमानस्थल र सटल बस सेवा अनुगमनपछि यात्रुको सुविधाका लागि सेवा विस्तार गर्ने निर्देशन दिए। त्यसपछि सुर्खेत नागरिक उड्डयन कार्यालय तथा विमानस्थल प्रमुख हिराजन काफ्लेले निःशुल्क सटल बस सेवा विस्तार गरिएको जानकारी गराएका छन्।

सुर्खेत नागरिक उड्डयन कार्यालयले जारी गरेको सूचनाअनुसार, शुक्रबारदेखि निरन्तर विमानस्थलदेखि प्रमुख बजारसम्म यात्रुहरूको सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले सटल बस सेवा विस्तार गरिएको छ। विमानस्थल प्रमुख काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘यस नागरिक उड्डयन कार्यालयको यात्रुहरूका लागि निःशुल्क सटल बस सेवा विमानस्थलदेखि तीनकुने चोकसम्म सञ्चालन हुँदै आएकोमा उक्त सटल बस सेवा जेठ ८ गतेदेखि सुर्खेत विमानस्थलदेखि कालुन्चोक, घण्टाघर चोक, मंगलगढी चोक हुँदै तीनकुने चोकसम्म सञ्चालन हुनेछ।’

सुर्खेत विमानस्थल कर्णाली प्रदेशको पर्यटन, व्यापार तथा प्रशासनिक गतिविधिको प्रमुख हवाई केन्द्रको रूपमा विकास हुँदै गएको छ। पछिल्लो समय काठमाडौंबाट दैनिक नियमित उडान हुने र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुहरूको संख्या बढँदा विमानस्थल आसपास यातायात व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। यसै अवस्थालाई सरल बनाउन सटल बस सेवा विस्तार गरिएको पर्यटन मन्त्रालयका सचिव निरौलाले जानकारी दिए। उनले भने, ‘विशेष रूपमा आन्तरिक हवाई यात्रु, पर्यटक, ज्येष्ठ नागरिक तथा पहिलो पटक सुर्खेत आउने यात्रुहरूलाई लक्षित गर्दै यो सेवा प्रभावकारी बनाउन सञ्चालन रुट विस्तार गरिएको छ।’ यात्रुले विमानस्थलबाट बजारसम्म पुग्न महँगो निजी सवारी प्रयोग गर्ने बाध्यता कम हुने बताए। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग विमानस्थलको पहुँच थप व्यवस्थित हुँदा पर्यटन तथा सेवा क्षेत्रमा समेत प्रत्यक्ष लाभ पुग्ने स्थानीय व्यवसायीको भनाइ छ।