
क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन्। अल नासरले दमाकलाई ४-१ ले पराजित गर्दै ८६ अंकसहित उपाधि सुनिश्चित गरेको हो। रोनाल्डोले साउदी अरबमा तीन सिजनमा १०० भन्दा बढी गोल गरेका छन्।
८ जेठ, काठमाडौं। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्ततः अल नासर क्लबसँग साउदी प्रो लिगको उपाधि जितेका छन्। यस सिजनको अन्तिम खेलमा बिहीबार अल नासरले दमाकलाई ४-१ ले हराउँदै रोनाल्डोले पहिलोपटक साउदी प्रो लिग ट्रफी उचालेका हुन्। सन् २०२३ को सुरुमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर साउदी लिगको अल नासरसँग अनुबन्ध गरिएका रोनाल्डोले लिग उपाधि पाउन तीन वर्ष कुर्नुपरेको थियो।
विजयपछि अल नासरले ३४ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको अल हिलालाई २ अंकले पछि पार्यो। अल हिलाले अल पेइहालाई १-० ले हराएको भए पनि उपाधि जित्न सकेन। अल नासरका लागि रोनाल्डोले ६३ औं र ८१ औं मिनेटमा दुई गोल गरिरहेका थिए। त्यसअघि साडियो मानेले ३२ औं मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए भने किङ्सले कोमनले ५२ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। दमाकका लागि मोरलाया सिलाले ५८ औं मिनेटमा पेनाल्टीबाट एक गोल फर्काएका थिए।
४१ वर्षीय स्टार रोनाल्डोले साउदी अरबमा बिताएका तीन सिजनमा अल नासरका लागि १०० भन्दा बढी गोल गरिसकेका छन्। उनले युरोपमा इंग्ल्यान्ड, स्पेन र इटालीमा घरेलु लिग उपाधि जितिसकेका छन्। जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुने फिफा विश्वकप २०२६ का लागि पोर्चुगल टोलीमा समावेश रोनाल्डो छैठौं पटक विश्वकप खेल्न तयारीमा छन्।

