
८ जेठ, चितवन । बुद्ध एयरले चितवनको भरतपुरदेखि कास्कीको पोखरासम्म सञ्चालन गर्दै आएको उडान बन्द गरेको छ। विगत एक महिनादेखि भरतपुर–पोखरा उडान सञ्चालनमा छैन भनी बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्त बस्नेतले जानकारी दिनुभयो। उनका अनुसार, पोखरा र भरतपुर बीच यात्रुको संख्या निकै कम हुनु, भाडा वृद्धि हुनु, र पोखरा–मुग्लिन सडकखण्डको सुधारका कारण उडान रोकिएको हो। पोखरा जाने वा चितवन आउने समूह भएको खण्डमा उडान पुनः सुरु गर्ने सम्भावना नरहेको स्टेशन म्यानेजर बस्नेतले भने, ‘केही समयसम्म उडान संचालन गरियो, तर जहाज प्रायः खाली उडाउने अवस्था रह्यो,’ उनले थपे, ‘पोखरा र भरतपुर दुवै पर्यटकीय गन्तव्य भएकाले पर्यटकलाई लक्षित गरेर उडान चलाइएको थियो, तर सेवा अपेक्षित सफल हुन सकेन।’
चितवन र पोखराका पर्यटन तथा होटल व्यवसायीहरुको विशेष मागमा बुद्ध एयरले २०७४ भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गरेको थियो। बुद्ध एयरका जहाजहरू भरतपुर र पोखरा बीच आवतजावत गर्दै आएका थिए। अघिपछि मुग्लिन–नारायणगढ तथा आँबुखैरेनी–पोखरा सडक विस्तारका कारण भरतपुर–पोखरा सडक यात्रा असजिलो भयो, त्यस समयमा बुद्ध एयरले सो उडान सुरु गरेको थियो। तर अहिले दुवै सडकखण्ड विस्तार भएर अधिकांश यात्रु सडकमार्गबाट यात्रा गर्न थालेका छन्। भरतपुरबाट पोखरा निजी सवारीमा करिब साढे २ घण्टा र सार्वजनिक सवारीमा करिब ३ घण्टामा पुग्न सकिन्छ।

