
कालंगा हाइड्रोपावरले सर्वसाधारणको लागि ४९ करोड रुपैयाँ बराबर ४९ लाख प्राथमिक सेयर जारी गरेको छ। आईपीओमा आवेदन दिने म्याद जेठ १३ गतेसम्म छ र न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले १५.३३ मेगावाट क्षमताको कालंगागाड आयोजनालाई सञ्चालनमा ल्याएको छ र बीबी प्लस केयर रेटिङ प्राप्त गरेको छ। सर्वसाधारणका लागि शुक्रबारबाट कालंगा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलाइएको छ। कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको जारी पूँजिबाट ३५ प्रतिशत अर्थात ४९ करोड बराबरको ४९ लाख कित्ता सेयर जारी गर्दैछ। यो मध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारीमा रहेका नेपाली, म्युचुअल फन्ड, कर्मचारीहरु लगायतलाई दिएको हिस्सा काटेर बाँकी २८ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराइएको छ। सेयर निष्कासन र बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल चयन गरिएको छ। आईपीओमा आवेदन जेठ १३ गतेसम्म दिन सकिन्छ। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन हुन सक्छ। मेरो सेयर अनलाइन प्रणाली, सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिन्छ। कम्पनीको अवस्था कस्तो छ? केयर रेटिङले कालंगा हाइड्रोपावरलाई बीबी प्लस रेटिङ दिएको छ, जुन मध्यम जोखिम भएको दायित्व सूचक हो। कम्पनीले बझाङ जिल्लामा १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनालाई सञ्चालनमा ल्याएको छ। यस आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँ हो र प्रति मेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ रहेको छ। साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्ट गरेर फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ। गत पुस अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ १०५ रुपैयाँ छ। प्रति सेयर आम्दानी ६ रुपैयाँ ५३ पैसा रहेको र संचयित नाफा ४ करोड ६२ लाख रुपैयाँसम्म पुगेको छ।

