
राहदानीको लागि ३० मिनेटमै आवेदन दिन सकिने, भोलिपल्टै राहदानी उपलब्ध गराइने
परराष्ट्र मन्त्रालयले राहदानी आवेदन प्रक्रिया ३० मिनेटभित्रै पूरा गर्न सकिने व्यवस्था गरेको दाबी गरेको छ। राहदानी विभागले आवेदन दिएको भोलिपल्टै राहदानी जारी गर्ने योजना ल्याएको छ। विभागले नयाँ ‘मोफा मित्र’ एप्लिकेशन जेठ १२ गते सार्वजनिक गर्ने तयारी गरेको छ। ८ जेठ, काठमाडौं।
आज पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ३० मिनेटभित्र आवेदन दिन सकिने व्यवस्था मिलाइएको जानकारी दिए। हाल राहदानी सेवा सरल रहेको उल्लेख गर्दै मन्त्रालयले सेवाग्राहीहरूलाई तोकिएको समयमा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ। कागजातसहित उपस्थित भएपछि ३० मिनेटभित्र आवेदन दिने सेवा प्रवक्ता पौडेलले बताए।
जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा आवेदन दिएको ७ देखि १२ दिनभित्र राहदानी छपाइ गरी पठाउने व्यवस्था मिलाइएको उनले बताए। निजी ठेगानामा राहदानी पुर्याउन हुलाक सेवा विभागसँग समन्वय भइरहेको पनि उनले जनाए। राहदानी विभागमा नयाँ प्रणाली लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ।
वर्तमान आपूर्तिकर्ताबाट प्राप्त २ लाख ७ हजार ५ सय ९३ थान राहदानीमध्ये २ लाख ७ सय ३७ थान साधारण राहदानी मौज्दात रहेको मन्त्रालयले जनाएको छ। आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई सकभर जेठ मसान्तभित्रै आवेदन दिने परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। नयाँ आपूर्तिकर्ताले २ लाख ५० हजार थान राहदानी उपलब्ध गराएको र वैयक्तिकरण परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।