Skip to main content

सुदूरपश्चिम र लुम्बिनीमा गर्मी झन् बढ्ने, घर बाहिर ननिस्कन सल्लाह जारी

८ जेठ, काठमाडौं । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा आगामी दिनहरुमा गर्मी अझै बढी हुने अनुमान गरिएको छ। हाल गर्मीले जनजीवनमा प्रभाव पारिरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी दिनहरुमा तापक्रम अझै उकालो लाग्ने संभावना सार्वजनिक गरेको छ। त्यसैले महाशाखाले आज साँझ मौसमसम्बन्धी विशेष सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ। मौसमविद्हरुको अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा अन्य जिल्लाभन्दा बढी गर्मी हुने भएकाले त्यहाँका बासिन्दालाई विशेष सतर्क रहन भनिएको छ।

त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा पनि तापक्रम बढ्ने देखिएपछि त्यहाँको जनसमुदायलाई तापक्रमको अवस्था बारे नियमित जानकारी लिन र सतर्क रहन आग्रह गरिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागहरू तथा लुम्बिनी प्रदेशका तराई भूभागका केहि स्थानहरूमा जेठ ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यो भन्दा माथि मापन भईरहेको छ। त्यस्तै सुदूरपश्चिम र लुम्बिनीका केही पहाडी तथा तराई भूभागमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी छ।

देशभरि तापक्रमको निरिक्षण अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा त्यो भन्दा बढी रहने देखिएको छ। केही क्षेत्रहरुमा ४० डिग्री सेल्सियस वा बढी तापक्रम हुँदा अत्यधिक गर्मी पर्ने जोखिम रहेको उल्लेख विशेष सूचना मा गरिएको छ। गर्मी बढ्ने भएकाले त्यसबाट जोगिन आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ। ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी तीन दिनसम्म मध्यम तहको तातो लहर र पहाडी भूभागमा उच्च तापक्रम हुने सम्भावना रहेकोले यसको प्रभावबाट जोगिन सचेत रहन बिनम्र आग्रह छ’, महाशाखाले जारी गरेको विशेष सूचनामा उल्लेख गरिएको छ।

गर्मीबाट बच्ने उपायहरूका बारेमा जनरल फिजिसियन डा. देवेन्द्र आचार्यले बताउनुभयो, तातो हावा र लहरले थकान, कमजोरी, बढी तिर्खा, टाउको दुखाइ, खुट्टा बाउडिनु, चक्कर, बेहोस हुँदा, मांसपेशी दुख्ने, बान्ता आउने जस्ता लक्षण देखिन सक्छन्। गर्मीबाट बच्न चिसो र छायाँ परेको स्थानमा बस्न, अत्यावश्यक नभएसम्म घाममा ननिस्कन, बाहिर निस्कनु भएमा टोपी लगाउने, हल्का र छोप्ने कपडा लगाउने सुझाव दिइन्छ। साथै जुस, सूप र साधा पानी नियमित रूपमा सेवन गर्नुपर्छ। यस्ता सबै उपायहरू अपनाए पनि स्वास्थ्यमा समस्या उत्पन्न भएमा स्वास्थ्यकर्मीको सल्लाह लिन चिकित्सकहरूले सुझाव दिएका छन्।