
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा र हितप्रति सरकार सतर्क रहेको जनाएको छ। मन्त्रालयले स्ट्रेट अफ होर्मुजको अवरोध चाँडै खुल्ने तथा बजार मूल्य सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा गरेको छ। पश्चिम एसियामा रहेका नेपालीहरुले मन्त्रालयको अनलाइन पोर्टलमा ८७ हजार ८ सय ६३ जनाले जानकारी दर्ता गराइसकेका छन्। ८ जेठ, काठमाडौं।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउँदै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र हितप्रति सरकार सजग रहेको जनाएको छ। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा तनाव भए तापनि सार्थक वार्ताका सम्भावना बलियो रहेको र मे महिनादेखि परिस्थिति क्रमशः सुधारोन्मुख रहेको बताएका छन्। उनले शान्तिका लागि भइरहेको कूटनीतिक प्रयास सफल पार्नु, ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध हटाउनु र उक्त क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए।
नेपालले ‘स्ट्रेट अफ होर्मुज’ अवरोध खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरु सहायता गर्ने उल्लेख पनि उनले गरेका छन्। अवरोध चाँडै हट्ने र त्यसबाट प्रभावित आपूर्ति शृङ्खला तथा आकाशिएको बजार मूल्य क्रमशः सामान्यीकरणतर्फ जाने अपेक्षा गरिएको मन्त्रालयले बताएको छ। प्रवक्ता क्षेत्रीका अनुसार पश्चिम एसियामा रहेका नेपालीहरुको अवस्था अहिले सामान्य रहेको छ। उनीहरुको सुरक्षा र हितसँग सम्बन्धित विषयमा निरन्तर सक्रिय रहेको जनाउँदै उनले मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रूम’, कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली तथा सम्बन्धित नेपाली नियोगका हटलाइन सेवा अझै सञ्चालनमा रहेको जानकारी दिए।
अब उक्त कन्ट्रोल रूम २४ घण्टाको सट्टा बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिने उनको भनाइ छ। हालसम्म कन्ट्रोल रूममा १६० भन्दा बढी फोन, ५० भन्दा बढी इमेल तथा ११० भन्दा बढी अनलाइन माध्यमबाट सम्पर्क भएका छन् भने १० जनाभन्दा बढी व्यक्ति भौतिक रुपमा उपस्थित भएर कुल ३३० भन्दा बढी पटक सम्पर्क भएको र पछिल्लो ४८ घण्टामा मात्र दुई पटक सम्पर्क भएको पनि मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमा हालसम्म ८७ हजार ८ सय ६३ जनाले विवरण दर्ता गराइसकेका छन् भने पछिल्लो १४ दिनमा मात्र १२ जनाले नयाँ दर्ता गरेका छन्। मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई कुनै समस्या परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न, स्थानीय सुरक्षा नियमहरू पालना गर्न र साइबर कानुन आकर्षित हुने कुनै पनि निषेधित गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।

