Skip to main content

ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी, नेपाली यात्रुहरूका लागि अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज

नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ट्रिप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको छ। यस साझेदारीपछि नेपाली यात्रुहरूले अगोडाको विश्वव्यापी होटल नेटवर्कमा नेपाली मुद्रामा सिधै बुकिङ गर्न सक्नेछन्। ट्रिप टर्बोले २०२४ सेप्टेम्बरमा मोबाइल एप लन्च गरेको र ५ लाखभन्दा बढी डाउनलोड भएको छ।

यस सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरिका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन्। ट्रिप टर्बो प्रयोगकर्ताले अगोडाको विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ लाखौं होटल तथा आवास सेवा उपलब्ध छन्। ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले भने, “यो रणनीतिक साझेदारीबाट विदेश घुम्न जाने नेपालीका लागि अत्यन्तै सहज तरिकाले नेपाली मुद्रामै होटल बुक गर्न सकिने सुविधा उपलब्ध भएको छ।”

साझेदारीमा ट्रिप टर्बोका तर्फबाट संस्थापक प्रसाईं र अगोडाका प्रमुख व्यवसायिक अधिकृत डेमियन फिर्स्चले हस्ताक्षर गरेका छन्। अगोडाको अन्तर्राष्ट्रिय पहुँच र ट्रिप टर्बोको नेपाली बजारप्रतिको गहिरो बुझाइ संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित तथा विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिइएको छ। ट्रिप टर्बो नेपालकै सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो।