
पाँचथरको याङवरकमा आएको बाढी र पहिरोबाट ठूलो क्षति, विस्तृत विवरण आउन बाँकी छ
९ जेठ, पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकामा आएको बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ। रातिको समयमा आएको बाढीले सडक, पुल, खेतीयोग्य जमिन तथा घरहरूमा भारी असर पारिसकेको छ। मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ओयाम बजार नजिकै पहिरो खस्दा यातायात प्रभावित भएको छ। फलैचा र च्याङथापुका विभिन्न स्थानमा खेतहरू बगाइएका छन् भन्ने जानकारी स्थानीय स्रोतहरूले दिएका छन्। च्याङथापुमा दुईवटा घरहरू पनि क्षतिग्रस्त भएका छन्। पाँचथरबाट ताप्लेजुङतर्फ जाने बाटोको इन्द्रावती खोलामा रहेको पुल पनि क्षतिग्रस्त भएको बताइएको छ। त्यस्तै, निर्माणाधीन तमोर करिडोर अन्तर्गतको लिम्बुनी पुलमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ। छिमेकी जिल्ला ताप्लेजुङको सिदिङबामा पनि बाढी र पहिरोले हानि पुर्याएको स्थानीयहरूले जनाएका छन्। कावेली र तमोर नदीहरूमा बाढी आएको छ। बाढी र पहिरोका कारण सडक, पुल तथा खेतीबारीमा पुगेको क्षतिबारे विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिएका छन्।