पाँचथरको याङवरकमा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्यायो, विस्तृत विवरण आउन बाँकी छ

९ जेठ, पाँचथर । पाँचथरको उत्तरी याङवरक गाउँपालिकामा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। रातिको समयमा आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरहरूमा क्षति पुगेको छ। मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ओयाम बजार नजिकै पहिरो परेको छ। फलैचा र च्याङथापुका विभिन्न ठाउँमा खेतहरू बगाइएका छन्, स्थानीय स्रोतहरूले जनाएका छन्। च्याङथापुमा दुईवटा घरहरू पनि क्षतिग्रस्त भएका छन्। पाँचथरबाट ताप्लेजुङतर्फ जाने बाटोको इन्द्रावती खोलामा रहेको पुल पनि क्षतिग्रस्त भएको छ। यस्तै, निर्माणाधीन तमोर करिडोर अन्तर्गतको लिम्बुनी पुलमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ। छिमेकी जिल्ला ताप्लेजुङको सिदिङबामा पनि बाढी र पहिरोले क्षति गरेको स्थानीयहरूले जनाएका छन्। कावेली र तमोर नदीमा बाढी आएको छ। बाढी र पहिरोका कारण सडक, पुल तथा खेतीबारीमा क्षति भएको खबर प्राप्त भएपछि क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णले जानकारी दिए।

