
बाँके जिल्लाका खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाका पाँच जना सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको छ। जिल्ला हुलाक कार्यालयका प्रमुख गजेन्द्रप्रकाश थारुले केही सातादेखि घरमै राहदानी वितरणको प्रक्रिया सुरु भएको जानकारी दिएका छन्। राहदानी वितरण निःशुल्क भए पनि हुलाक महसुलको रूपमा रु ६५ निर्धारण गरिएको छ र यो सेवा प्रभावकारी सावित भइरहेको छ। ९ जेठ, नेपालगञ्ज।
बाँके जिल्लामा हुलाक कार्यालयमार्फत तीन स्थानीय तहका पाँच जना सेवा उपभोक्तालाई घरमै पुगेर राहदानी उपलब्ध गराइएको छ। जिल्लाका खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमै राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ। सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्याउने नयाँ प्रक्रिया सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित देखिएका छन्।
‘पहिले राहदानी बनाउन जाँदा झन्झट हुने गरिन्थ्यो। अहिले घरमै आउनुभएको छ। यसले सेवाग्राहीको समय र खर्च दुवै बचत भएको छ,’ उनले बताए। पहिले राहदानी बनाउन लगभग एक महिना लाग्ने गरेको भए तापनि अहिले यो सेवा १५ दिनभित्र घरमै पुग्ने वर्माले जनाए। राहदानी घरमै पाइसकेपछि उनले अहिले विदेश जाने तयारी थालेको जानकारी दिए।
जिल्ला हुलाक कार्यालयका प्रमुख गजेन्द्रप्रकाश थारुले केही सातादेखि जिल्लाका पाँच जना सेवा उपभोक्तालाई घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको जानकारी दिए। अन्य केहीको राहदानी हुलाक कार्यालयमा उपलब्ध हुनासाथ वितरण गरिने बताए। सेवालाभुकले राहदानी बनिसकेपछि आफूलाई एउटै स्थानमा वा इच्छाअनुसार अन्य स्थानमा वितरण गरिने व्यवस्था रहेको उनले बताए।

