Skip to main content

कैलाली प्रहरीले भारतबाट चोरी भएका दुई करोड १० लाख मूल्यका गरगहना र नगद बरामद गर्यो

सुदूरपश्चिम प्रहरीले भारतको दिल्लीमा चोरी भएका दुई करोड १० लाख रुपैयाँ बराबरका गरगहनाहरू र नगद बरामद गरेको छ। तीन जनालाई पक्राउ गरिएको छ जसको साथबाट हिरा, मोती, सुनचाँदीका गरगहनासहित विभिन्न देशका मुद्राहरू पनि बरामद भएका छन्। भारतीय दूतावासमार्फत पीडित पक्षलाई बरामद सामग्री हस्तान्तरण गरिएको छ भने चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ। ९ जेठ, धनगढी।

सुदूरपश्चिम प्रहरीले भारतमा चोरी भएका ठूलो मात्रामा गरगहनाहरू र नगद बरामद गरेको छ। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले लामो अनुसन्धान पश्चात् भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता पाएको हो। प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहनाहरू, विभिन्न कम्पनीका घड़ीहरू, नेपाल लगायत विभिन्न देशका मुद्राहरू समेटेर कुल दुई करोड १० लाखभन्दा बढी मूल्य बराबरको सामग्री बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतको दिल्लीको राजेन्द्रनगरस्थित संजय कुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो। माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीहरुले नेपाल प्रहरीलाई उजुरी दिएका थिए। सोही आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले रावतसहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा बाजुराका खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेका छन्, प्रहरीले जनाएको छ। तीनै जनालाई पक्राउ गर्ने क्रममा उनीहरूको साथबाट गरगहनासहित दुई करोड ७ लाख रुपैयाँ बराबरको माल बरामद गरिएको थियो। सुदूरपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक(डीआईजी) ओमबहादुर रानाले अप्रेसन गर्दा उनीहरूको साथबाट चोरी गरिएका नेपाली रुपैयाँ एक करोड ३४ लाख मूल्य पर्ने १२ वटा घड़ी, ४३ लाख ३३ हजार १४५ रुपैयाँ बराबरका विभिन्न सुनका गरगहनाहरू, १५ लाख ५६ हजार रुपैयाँ बराबरका हिरा र सुनका रिंग, दुई लाख १५ हजार ५३० रुपैयाँका चाँदीका गरगहनाहरू तथा तीन लाख रुपैयाँ बराबरको सुन बरामद गरिएको जानकारी दिए।

बरामद गरिएको नगद र विभिन्न देशका मुद्राहरू सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। भारतीय दूतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष शुक्रबार कैलाली पुगेका थिए र उनीहरूलाई सामान हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालयमार्फत सामान सम्बन्धित पक्षलाई हस्तान्तरण गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले संयुक्त अप्रेसनमार्फत बरामद गरिएका गरगहना र नगदसहितको सामग्रीलाई जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूको संरक्षणमा सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए।

उनका अनुसार चोरी गरिएका सामान प्रहरीले फिर्ता दिएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीले देखाएको कार्यप्रति प्रशंसा गरेका छन्। ‘मेरो घरबाट हराएको केही सामान अझै फेला परेको छैन। नेपाल प्रहरीले सहयोग गर्ने विश्वास गर्छु,’ माखीजाले भने, ‘चोरी भएका सामान बरामद गर्न सक्रिय भूमिका निभाउने सबै नेपाली प्रहरीलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।’ प्रहरीका अनुसार माखीजाको घरबाट चोरी भएका सबै सामग्री अझै फेला परेका छैनन्। पक्राउ परेका व्यक्ति हरूले अरूको नाम लिएको भए पनि ति व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन् र उनीहरूको खोजी जारी छ। पछिल्लो समयमा भारतमा घरेलु कामदारका रूपमा जानेहरूले घर मालिकलाई विश्वासमा पारेर गरगहना र नगद चोरी गरेर ल्याउने प्रवृत्ति बढ्दो छ। तथापि, कानुनी व्यवस्था स्पष्ट नभएका कारण सार्वजनिक मुद्दा चलाउने बाहेक थप कारबाही गर्न गाह्रो परेको प्रहरी बताउँछन्।