Skip to main content

लुम्बिनी प्रदेशसभा: आत्मनिर्भरमुखी कार्यक्रमलाई प्राथमिकता दिन सांसदहरूको सुझाव

९ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएको छ। शनिबारको बैठकमा सांसदहरूले कृषि, स्थानीय उत्पादन, उद्यम विकास, बजारीकरण र आत्मनिर्भरतामुखी कार्यक्रमलाई प्राथमिकता दिएर बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिएका छन्। सांसदहरूले प्रदेश सरकारले ल्याउने बजेट क्रियान्वयनयोग्य, परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

साथै, युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनको कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (३) अनुसार लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिएको थियो। सभामुख तुलाराम घर्तिमगरले छलफलका लागि तीन घण्टा अर्थात् १८० मिनेटको समय निर्धारण गरेका थिए। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रदेशसभा सदस्यहरू दीपेन्द्रकुमार पुन, यमुना रोका तामाङ, तुल्सीराम शर्मा, कृष्णा कुश्मा थारू, रेखा शर्मा, धनबहादुर केसी, इन्द्राकुमारी गहतराज, नवराज लामिछाने, राजकुमार चौधरी र तुलसीप्रसाद चौधरीले सहभागिता जनाएका थिए। -रासस