
तेह्रथुमको तिनजुरे क्षेत्रमा वैशाख महिनामा लालीगुराँस विभिन्न रङहरूमा फुल्नुको मुख्य कारण आनुवंशिक विविधता र वातावरणीय भिन्नता हो। लालीगुराँसको वैज्ञानिक नाम रोडोडेन्ड्रन अर्बोरियम हो र नेपालमा यसको दुई उपप्रजाति र दुई भेराइटी पाइन्छ। सरकारले तिनजुरेको सडक सुधार र वातावरणमैत्री पदमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट समावेश गर्ने तयारी गरिरहेको छ।
गत वैशाख ११ गते तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कमा “जलवायु परिवर्तनको गुराँसमा प्रभाव” विषयमा छलफलमा म पनि सहभागी भएँ। सहभागीहरूमा दश जोड दुई (१०+२) का विद्यार्थी र सामुदायिक वन सदस्यहरू थिए। कार्यक्रमपछि तिनजुरेस्थित पाँचपोखरीतर्फ लागियो। दूरी लगभग १० किलोमिटर हुन सक्ला। सवारी साधन १९० एमएम ग्राउन्ड क्लियरन्स भएको चारपाङ्ग्रे गाडी थियो। बाटो उबडखाबड हुनुका कारण ग्राउन्ड क्लियरन्स कम भएका गाडीलाई खाल्डाखुल्डी र ठूलो ढुङ्गा भएको बाटोमा यात्रा सहज हुँदैन।
गुराँस फुल्ने समयमा नेपालका विभिन्न ठाउँमा पर्यटकहरूको भीड लाग्छ। तिनजुरे मात्र होइन, नेपालमै यति धेरै गुराँस हेर्न आउने हुने भनेर म अनुमान पनि गरेको थिइनँ। स्थानीयहरू भन्छन्, “आज तिनजुरेमा चारपाङ्ग्रे गाडीको संख्या एक हजारभन्दा बढी भयो।” मोटरसाइकलको संख्या यसको दुई–तीन गुणा बढी देखिन्थ्यो। पर्यटकहरू विभिन्न रङमा फुलेका गुराँसको दृश्यमा रमाइरहेका थिए।
लालीगुराँस विभिन्न रङमा फुल्ने कारण भनेको एन्थोसाइनिनजस्ता रासायनिक पदार्थहरूको प्रभाव हो। माटोको अम्लीयताले एन्थोसाइनिन उत्पादनमा प्रभाव पार्छ। यसैले एउटै ठाउँका फूलमा पनि विभिन्न रङ देखिन्छ। तिनजुरे क्षेत्र लालीगुराँसको विविधताका लागि सबैभन्दा अनुकूल स्थान हो। यहाँ नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब ३० प्रजाति पाइन्छ।

