Skip to main content

भारतको तेलंगानामा अत्यधिक गर्मीले १६ जनाको मृत्यु

१० जेठ, काठमाडौं। भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको छ। राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार उक्त जानकारी दिएका छन्। सरकारले प्रत्येक मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणासमेत गरेको छ। शनिबार मन्त्री रेड्डीले अधिकारीहरूसँग बैठक गरी ‘हिटवेभ’का कारण सिर्जित अवस्थाबारे छलफल गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्लाका प्रमुख अधिकारी (कलेक्टर) हरूको प्रतिवेदनका आधारमा सबैभन्दा धेरै ४ जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको जानकारी दिए। त्यसपछि वारंगल अर्बन, करिमनगर र निजामाबाद जिल्लामा ३/३ जनाको मृत्यु भएको छ। यस्तै, जोगुलाम्बा गडवाल, रंगा रेड्डी र सूर्यापेट जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्री रेड्डीले बताए। राज्य सरकारले प्रत्येक मृतकका परिवारलाई ४ लाख भारतीय रुपैयाँ उपलब्ध गराइने निर्णय गरेको छ।