Skip to main content

पश्चिम एसियामा शान्ति वार्तामा सफलता पाएपछि ट्रम्पलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पश्चिम एसियामा शान्ति स्थापना गर्ने प्रयासमा सफलतापूर्वक अगाडि बढाएकोमा बधाई दिएका छन्। शहबाजले सामाजिक सञ्जाल एक्समा ट्रम्पद्वारा साउदी अरब, कतार, टर्की, इजिप्ट, युएई, जोर्डन र पाकिस्तानका नेतासँग फलदायी संवाद भएको उल्लेख गरेका छन्। पाकिस्तानले शान्ति प्रयास निरन्तरता दिने प्रतिबद्धता जनाएको छ र छिट्टै अर्को बैठकसमेत आयोजना गर्ने आशा व्यक्त गरेको छ।

१० जेठ, काठमाडौं। पश्चिम एसियामा जारी तनावका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति स्थापना प्रयासका लागि बधाई दिएका छन्। प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि गरेको प्रयासप्रति म उहाँलाई बधाई दिन्छु। उहाँले आज बिहान साउदी अरब, कतार, टर्की, इजिप्ट, युएई, जोर्डन र पाकिस्तानका नेतासँग टेलिफोनमा फलदायी कुराकानी गर्नुभएको छ।’

पाकिस्तानी प्रधानमन्त्रीका अनुसार सो कुराकानीमा पाकिस्तानको तर्फबाट फिल्ड मार्शल असिम मुनिर सहभागी थिए। शहबाजले मुनिरको निरन्तर मेहनतको प्रशंसा पनि गरेका छन्। ‘यी छलफलहरूले वर्तमान क्षेत्रीय अवस्थाबारे विचार साझा गर्ने र शान्ति प्रयासहरूलाई अगाडि बढाउन राम्रो अवसर प्रदान गरेको छ,’ उनले थपे, ‘पाकिस्तानले पूर्ण इमानदारीका साथ आफ्नो शान्ति प्रयास जारी राख्नेछ र हामी छिट्टै अर्को बैठक आयोजना गर्ने आशा गर्छौं।’

पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए, जहाँ उनले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग पनि भेटवार्ता गरेका छन्।