Skip to main content

लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादका कारण कुटपिटको घटना भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ का स्थानीयले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित पाँच जनामाथि कुटपिट गरेका थिए। प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको टोली लाम्पाटामा वस्तुगत स्थिति बुझ्न गएको र घाइते सबैको उपचारपछि डिस्चार्ज भएको छ। १० जेठ, धनगढी।

बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ का थलीका स्थानीयहरूको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहित पाँच जनामाथि कुटपिट गरेको थियो। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली उनीहरूको अवरोधका कारण साइपाल बेसक्याम्प नपुगिकन फर्किएको थियो।

घटना भएको करिब एक हप्ता पछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको टोली लाम्पाटामा वस्तुगत स्थिति बुझ्न पठाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको स्थिति बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सो स्थानतर्फ गएको जानकारी दिए। उनका अनुसार शनिबार प्रस्थान गरेको टोली आइतबार लाम्पाटा पुग्नेछ। सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई)ले गरिरहेका छन्।

लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादसँग सम्बन्धित विषयमा खार्पुनाथका स्थानीयले गरेको कुटपिटमा परेका घाइते वडा सदस्यसहितको काठमाडौंमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था सामान्य भएपछि ती सबै घाइतेहरु डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।