Skip to main content

उपत्यकाका डीआईजी र ट्राफिक प्रमुखलाई सम्मान

१० जेठ, काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख एसएसपी (वरिष्ठ उपरीक्षक) नवराज अधिकारीलाई सम्मान गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले उनीहरूलाई सम्मान गरेको हो। रानिपोखरीका प्रमुख तथा एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) ईश्वर कार्कीले सम्मान प्रदान गरेका छन्।

उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको रानिपोखरीले जानकारी दिएको छ। जेनबी आन्दोलनपछि ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा खटिएर सेवा गर्दै आएका छन्। एसएसपी अधिकारीले जेनबी आन्दोलनको बेला तहस नहस भएको ट्राफिक कार्यालय पुनः सञ्चालनमा ल्याउन र ट्राफिकको मनोबल उच्च बनाउने उत्कृष्ट भूमिका निभाएको उल्लेख गरिएको छ।

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको, मातहत कर्मचारीको मनोबल बढाउने काम गरेकाले, ट्राफिक कारबाही र राजश्व वृद्धिमा उल्लेखनीय योगदान दिएकाले साथै चोरी तथा हराएका सवारी साधनहरू खोजतलास गरी मालिकलाई हस्तान्तरण गर्ने कार्य उत्कृष्ट तरिकाले गरेको भन्दै सम्मानित गरिएको हो। पछिल्लो लगभग एक महिनादेखि एसएसपी अधिकारीले उपत्यका ट्राफिकको कमाण्ड सम्हाल्दै आएका छन्। जेनबी आन्दोलनपछि बिना सैन्य वर्दी, खाली खुट्टामा पनि ट्राफिक सडक ड्युटीमा खटिएर काम गरेका थिए।