Skip to main content

नेपालको आयातमा अर्जेन्टिना तेस्रो ठूलो व्यापारिक साझेदार, कुन-कुन सामान आयात गर्छ?

नेपालले चालु आर्थिक वर्षको १० महिनामा १५० भन्दा बढी मुलुकसँग आयात/निर्यात गरेको छ। भारत, चीन र अर्जेन्टिना नेपालका मुख्य व्यापारिक साझेदार हुन्। अर्जेन्टिनाबाट मुख्य रूपमा कच्चा सोयाबिन तेल, सूर्यमुखी तेल, मकै, सिमी र तिलको दाना आयात भएको छ।

१० जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (साउन–वैशाख) का १० महिना भित्र १५० भन्दा बढी मुलुकसँग व्यापार गरेको तथ्यांक छ। तर, ठूलो व्यापार भने केहि सीमित मुलुकसँग मात्रै गरिएको छ। व्यापारमा पहिलो स्थान भारत, दोस्रो चीन र तेस्रो अर्जेन्टिनाको छ। दक्षिण अमेरिकी देश अर्जेन्टिना भौगोलिक रूपमा नेपालबाट टाढा अवस्थित छ।

चालु आर्थिक वर्षमा अर्जेन्टिनाबाट ९५ अर्ब २७ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ भने नेपालबाट अर्जेन्टिनामा महज ३६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

तथ्यांक अनुसार अर्जेन्टिनाबाट कच्चा सोयाबिन तेल र कच्चा सूर्यमुखी तेल मुख्यरूपमा आयात भएको छ। नेपालमा यी तेलहरूको मूल्य अभिवृद्धि गरी भारततर्फ निर्यात गरिन्छ।

१० महिनामा अर्जेन्टिनाबाट ५० करोड ३१ लाख लिटर कच्चा सोयाबिन तेल आयात गरिएको छ, जसको मूल्य करिब ८१ अर्ब रुपैयाँ रहेको छ। कच्चा सूर्यमुखी तेल ८ करोड २९ लाख लिटर आयात भएको छ, जसको लागत लगभग १३ अर्ब ३६ करोड रुपैयाँ छ।

त्यसैगरी अर्जेन्टिनाबाट ७ लाख ७८ हजार किलो मकै आयात गरिएको छ, जसको मूल्य ७ करोड ६३ लाख रुपैयाँ रहेको छ। सिमीको सुख्खा दाना/दाल ७५ हजार किलो आयात गरिएको छ, जसको लागत ९७ लाख २४ हजार रुपैयाँ छ। साथै तिलको दाना १ लाख १७ हजार ३ सय किलो आयात भएको छ, जसको मूल्य २ करोड ६३ लाख ९२ हजार रुपैयाँ रहेको तथ्यांकले देखाएको छ।