
झापाको मेचीनगर–६ बसपार्क नजिकै प्रहरीले बेहोस अवस्थामा फेला पारेका पाल्पाका ३२ वर्षीय हरि थापाको उद्धार गरेको छ। उद्धार गरिएका थापाको साथबाट एक लाख १८ हजार रुपैयाँ नगद बरामद गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको छ। अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस भएका उनी अस्पतालबाट डिस्चार्ज भए तापनि हालसम्म प्रहरीसँग सम्पर्कमा आएका छैनन्।
१० जेठ, झापा। पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकै प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ। अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
उद्धारपछि थापालाई तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगेर उपचार गरिएको थियो। उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीसम्पर्कमा आएका छैनन् भनी प्रवक्ता खड्काले जानकारी दिए। थापाका साथबाट बरामद गरिएको नगद इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सुरक्षित राखिएको छ। प्रहरीले उनको मोबाइलमा सम्पर्क गर्ने प्रयास गरे पनि फोन नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। थापा सम्पर्कमा आएपछि उनले साथ ल्याएको रकमलाई जिम्मा लगाइने जनाइएको छ। भारतबाट नेपाल फर्किएका थापाले शनिबार नेपाल–भारत बस सेवा मार्फत रात्री बसबाट काठमाडौँ जाने टिकट पनि लिइसकेका थिए। नशाको प्रभावले उनी बस छुटेका थिए।

