
समाचार सारांश परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्री खनालले वैदेशिक नियोगहरूलाई मात्र प्रशासनिक अड्डा नभई लगानी र प्रविधि केन्द्र बनाउनु पर्ने बताएका छन्। उनले विश्व भू-राजनीतिमा भइरहेको परिवर्तन र जलवायु संकटका चुनौतीहरू सामना गर्न कूटनीतिक चातुर्यता आवश्यक रहेको बताएका छन्। १० जेठ, काठमाडौं।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। आइतबार परराष्ट्र सेवा दिवसको उपलक्ष्यमा आयोजित समारोहमा उनले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनु पर्ने बताएका छन्। मन्त्री खनालले सिमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको संरक्षणमा पूर्व प्रशासक र कूटनीतिज्ञहरूले खेलेको भुमिका प्रशंसनीय रहेको बताए।
उनीहरूले भने, “परराष्ट्र नीति आन्तरिक प्राथमिकताको प्रतिबिम्ब हुनुपर्छ। विश्व भू-राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीलाई सामना गर्न कूटनीतिक चातुर्यता र रणनीतिक दूरदर्शिता आवश्यक छ।” मन्त्री खनालले नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको मात्र प्रतिक्रिया नगरी तिनको पूर्वानुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा जोड दिए।
‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ। वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ,’ उनले भने, ‘वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ। नियोगको पदस्थापनलाई अधिकार मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ।’ मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराको रूपमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटमुक्त बनाइने बताए।

