
राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल १ हजार ८ सय २७ मत ल्याएर चयन भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा कुल ८ हजार ६ सय ७९ मतदाता मध्ये ३९.११ प्रतिशत अर्थात् ३ हजार ३ सय ९४ मत खसेको थियो। अन्य ६ प्रदेशका सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति संयोजक र सदस्यहरू भने निर्विरोध चयन भएका छन्।
पौड्यालले रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै बैंक सञ्चालकमा चयन भएका हुन्। पौड्यालले २ सय ७५ मतको अन्तरले विजयी भएका छन्, जहाँ उनले १ हजार ८ सय २७ मत प्राप्त गरे भने शर्माले १ हजार ५ सय ५२ मत पाएका थिए। चयनित पौड्याललाई नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीको समर्थन प्राप्त भएको थियो।
बैंक सञ्चालक समितिमा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेशबाट मन्दिरा आचार्य, गण्डकीबाट कमलादेवी गिरी, लुम्बिनीबाट विष्णु बराल, कर्णालीबाट कालिबहादुर महतारा र सुदूरपश्चिमबाट मनमोहन विष्ट निर्विरोध चयन भएका छन्। लेखा सुपरिवेक्षण समिति संयोजकमा तारा गुरुङ तथा सदस्यहरूमा युवराज पोखरेल र ममताकुमारी साह निर्विरोध चयन भएका छन्।

