Skip to main content

प्रतिपक्षले आश्वासनको पोको देख्यो, सत्तापक्षले जीवन बदल्ने कार्ययोजना भन्यो

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि विराटनगरमा छलफल सुरु भएको छ। छलफलमा प्रतिपक्षी सांसदहरूले नीति तथा कार्यक्रमलाई दूरदृष्टिविहीन र पुराना योजनाहरूको सङ्ग्रह भएको भन्दै आलोचना गरेका छन्। सत्तापक्षका सांसदहरूले भने प्रस्तुत नीति तथा कार्यक्रमले प्रदेशको आर्थिक समृद्धि गर्ने र विकासको नयाँ आधार तयार पार्ने दाबी गरेका छन्। १० जेठ, विराटनगर।

आइतबारदेखि सुरु भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरू नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा विभाजित भएका छन्। सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम प्रगतिशील र समृद्धिको आधार भएको भन्दै बचाउ गरेका छन्। प्रतिपक्षी सांसदहरूले भने कार्यान्वयनमा शंका गर्दै विगतकै आश्वासनको निरन्तरता भएको बताएका छन्। प्रतिपक्षी दल नेकपा सांसद गोम्बु शेर्पाले नीति तथा कार्यक्रम यथास्थितिवादी रहेको आरोप लगाए। उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा यथास्थितिवादी देखिन्छ, व्यावहारिक रूपमा हेर्दा टपरटुइँया र आश्वासनमुखी मात्रै छ।’

नेकपाकै सांसद गणेशप्रसाद उप्रेतीले सरकारको नीतिमा नयाँपन नभएको बताए। उनले पुराना योजनाहरूको सङ्ग्रह रहेको भन्दै पर्यटन पूर्वाधार बिना पर्यटन वर्षको प्रचारलाई अर्थहीन बताए। प्रतिपक्षी सांसद बाबुराम गौतमले नीति तथा कार्यक्रममा दृष्टिकोणको अभाव रहेको बताए। उनले सरकारका नेताहरूको घर सिंगार्न व्यस्त रहेको भन्दै प्रश्न उठाए, ‘यो कस्तो समाजवाद हो?’ सत्तापक्षका सांसदहरूले भने नीति कार्यक्रमले सबै क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरेको दाबी गरेका छन्। नीति तथा कार्यक्रममाथिको छलफल भोलि पनि जारी रहनेछ।