गत वैशाख महिनामा मादक पदार्थ सेवन गरेर सवारी चालक हुँदा १२४ दुर्घटना, १२ जनाको मृत्यु

११ जेठ, काठमाडौं । गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ दुर्घटना भएका छन् भन्ने कुरा नेपाल प्रहरीले जानकारी दिएको छ। ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएका हुन्। काठमाडौं उपत्यका भित्र मात्र वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा दुई जनाको मृत्यु र ५० जना घाइते भएका छन्, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार, कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। मधेश प्रदेशमा २० वटा दुर्घटनामा २७ जना घाइते भएको छ। बागमती प्रदेशमा १२ वटा दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु र तीन जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन्। कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएका छन्, प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवनका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको बताउँदै ट्राफिक नियमको कडाइका साथ पालना गर्न सबै चालकलाई प्रवक्ता काफ्लेले आग्रह गरेका छन्। विशेषगरी रातको समयमा, सार्वजनिक बिदा तथा विभिन्न पर्व–उत्सवका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति बढेको उनले स्पष्ट पारेका छन्। उनले भने, मापसे गरेर सवारी चलाउनु मात्र कानूनी अपराध नभई मानव जीवनका लागि अत्यन्तै जोखिमपूर्ण कार्य हो।
ट्राफिक प्रहरीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियान थप प्रभावकारी बनाएको छ। विशेषगरी शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोकहरू एवं रातको समयमा ट्राफिक जाँच कडाइ गरिएको छ। मापसे गरी सवारी चलाउने चालकलाई कानून अनुसार कारबाही गर्ने र जनचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेको छ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताए। उनले भने, ‘मापसे गरेर सवारी नचलाउन र सुरक्षित यात्राका लागि जिम्मेवार हुन सम्पूर्ण चालक तथा सर्वसाधारणलाई ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।’
उनका अनुसार, मादक पदार्थ सेवन गरेपछि चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने हुँदा दुर्घटनाको सम्भावना अत्यधिक रहनेछ। सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन र ट्राफिक नियम पालना गर्न उनले सबै चालकलाई आग्रह गरेका छन्।

