Skip to main content

पोखरामा सम्पन्न एसिया कप ट्रायथलन र साउथ एसिया च्याम्पियनसिप, विजेताहरू को को भए

समाचार सारांश

  • पोखरामा सफलतापूर्वक सातौँ एसिया कप ट्रायथलन र १४औँ साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सम्पन्न भयो।
  • एसिया कप ट्रायथलनमा पुरुषतर्फ जापानका हुकुतो ओवाराले र महिलातर्फ सारिका नाकायामाले स्वर्ण पदक जिते।
  • साउथ एसिया ट्रायथलनमा पुरुषतर्फ भारतका याजात कन्दन्दा र महिलातर्फ डोली देवीदास पाटिलले पहिलो स्थान हासिल गरे।

७ चैत, काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना एवं व्यवस्थापनमा शनिबार पोखरामा सातौँ एसिया कप ट्रायथलन र १४औँ साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ।

संघका अनुसार यस प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको प्रतिष्ठा अझ सशक्त बनाएको छ। प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूले भाग लिया।

नेपाल लगायत जापान, स्लोभाकिया, उज्बेकिस्तान, दक्षिण कोरिया, सिंगापुर, ओमान, इस्टोनिया र भारतबाट कुल ४१ खेलाडी प्रतिस्पर्धामा थिए।

एसिया कप ट्रायथलन पुरुषतर्फ जापानका हुकुतो ओवाराले ५४ मिनेट ३० सेकेण्डमा प्रथम स्थान हासिल गरे। दोस्रो स्थान जापानी खेलाडी मित्सुहो मुचीजुकीलाई प्राप्त भयो भने तेस्रो स्थान उज्बेकिस्तानका आलेक्जेन्डर कुरीशोभले पाए।

महिलातर्फ जापानकी सारिका नाकायामाले १ घण्टा १६ सेकेण्डमा स्वर्ण पदक जितिन्। उज्बेकिस्तानकी अलिना खाकीमोभा दोस्रो र जापानकी मिनोरी इकोना तेस्रो स्थानमा रहिन्।

शीर्ष पाँच स्थान प्राप्त खेलाडीहरूले क्रमशः ६३०, ५२५, ४२९, ३१५, र २१० अमेरिकी डलर नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्राप्त गरे।

साउथ एसिया ट्रायथलन च्याम्पियनसिप पुरुषतर्फ भारतका याजात कन्दन्दा पहिलो, खुन्द्राकपाम मेतेई दोस्रो र नेपालका मौलिक महर्जन तेस्रो स्थानमा रहे।

महिलातर्फ भारतकी डोली देवीदास पाटिल पहिलो, मान्सी मोहती दोस्रो, र नेपालकी युस्का महर्जन तेस्रो स्थानमा रहिन्।

संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै निकाय, प्रायोजक, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।

गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको विशेष सहयोगप्रति धन्यवाद व्यक्त गरिएको छ।

संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरी नेपाललाई खेलकुद पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।