
हवाई इन्धनको मूल्य वृद्धिले टिकट भाडा बढ्दा अप्रिल महिनामा आन्तरिक उडानका यात्रु संख्या घटेको छ। आन्तरिक हवाई सेवा प्रदायकमध्ये बुद्ध एयरले सबैभन्दा धेरै १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ। वसन्त ऋतुको पर्यटन मौसमका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रु संख्या उल्लेख्य रूपमा बढेको छ। ११ जेठ, काठमाडौं।
पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण हवाई इन्धनको मूल्य वृद्धिसँगै टिकट भाडा पनि बढेपछि आन्तरिक उडानमा यात्रु संख्या घटेको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा कुल आन्तरिक हवाई यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ रहेको छ। यसअघि मार्च महिनामा आन्तरिक उडानमा ३ लाख ३५ हजार ६ सय ८३ यात्रु थिए। वायुसेवा कम्पनीहरूले बताएका छन् कि इन्धनको मूल्य वृद्धि र टिकट भाडा महँगिएपछि यात्रु सङ्ख्यामा असर देखिएको हो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार हाल यात्रु चाप कम हुनुको प्रमुख कारण इन्धन मूल्य हो। ‘इन्धनको मूल्य प्रतिलिटर १ सय २७ बाट एकै पटक दोब्बर वृद्धि हुँदा यसले टिकट मूल्यमा अवश्य नै प्रभाव पार्दछ,’ उनले बताए। यस महिनामा कुल ४ हजार २ सय ७२ आन्तरिक उडान र ४ हजार २ सय ७० अवतरण भएको तथ्यांक छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा बुद्ध एयर आन्तरिक सेवामा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी बनेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु संख्या बृद्धि भएको छ। अप्रिल महिनामा ४ लाख ५० हजार ५ सय ८२ यात्रुले सेवा लिएका छन्, जुन मार्च महिनाको ३ लाख ७५ हजार ६ सय ७४ यात्रु भन्दा बढी हो। मुख्य पर्यटकीय ऋतु र वसन्त ऋतुका कारण नेपालमा पदयात्रा र पर्वतारोहण लोकप्रिय हुने वातावरण बनिरहेकाले अन्तर्राष्ट्रिय यात्रु आगमन र प्रस्थानमा वृद्धि भएको छ।

