हिमाली गाउँपालिकामा जनप्रतिनिधि माथि कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी दर्ता

बाजुराको हिमाली गाउँपालिका–३ मा जनप्रतिनिधिसहितलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा हुम्लाका २३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि जग्गा दान दिएको विषयलाई लिएर भएको विवादका कारण ३ जेठमा उक्त समूहले कुटपिट गरेको थियो। घटनामा संलग्नहरूको खोजीका लागि बाजुरा र हुम्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोली लाम्पाटा क्षेत्रमा खटिएको छ।
बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा स्थानीय जनप्रतिनिधिसहितलाई बन्धक बनाएर कुटपिट गर्ने २३ जनाविरुद्ध उजुरी परेको छ। ३ जेठमा लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीबाट आएको समूहले वडा सदस्य पेमागारा गुरुङसहितलाई बन्धक बनाएर कुटपिट गर्ने २५ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी परेको हो। बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) शैलेश्वरी बोहराले कुटपिटमा परेका हिमालीका मिन कुँवरका बुवाले उनीहरूविरुद्ध शरीर बन्धक बनाएर कुटपिट गरेको भन्दै जाहेरी दिएको बताइन्।
उनकाअनुसार शनिबार कुँवरका परिवारले २३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी दर्ता गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा उनीहरूको खोजी थालिएको बोहराले जानकारी दिइन्। हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर खड्काले पनि उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए। उनका अनुसार भौगोलिक विकटताका कारण केही असहज भएपनि खोजीका लागि प्रहरी परिचालन भइसकेको छ। प्रहरी स्रोतकाअनुसार खार्पुनाथ गाउँपालिका–२ थालीका देवराज रावल, किशोर रावल, चन्द्रबहादुर रावल, रामदत्त रावल, सुन्दर जेठारा, माने जेठारा, वीर रावल, लोकेश रावल, कालजङ्ग रावल, गगन रावल, मेख रावलविरुद्ध किटानी जोहरी परेको छ।
यस्तै, खार्पुनाथकै ज्ञानेन्द्र शाही, शेर रावल, जया रावल, बुद्धि रावल, बृख रावल, कैलाश रावल, परेलाल रावल, करे रावल, लामा रावल, शङ्कर रावल, शान्त रावल र सिद्ध कार्कीविरुद्ध पनि किटानी जाहेरी दिइएको छ। लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्ने र सीमाको विषयलाई लिएर जेठ पहिलो हप्तादेखि विवाद भइरहेको थियो। प्रहरी चौकी निर्माण गर्न जग्गा दान दिएको निहुँमा खार्पुनाथबाट लाम्पाटा आएको समूहले वडा सदस्य पेमागारा गुरुङको घरमा आक्रमण गर्दै ३ जेठमा कुटपिट गरेको थियो। कुटपिट गरेपछि गुरुङको परिवारलाई बन्धक बनाएर उनकै घरमा बसिरहेको समूहले मिन कुँवरसहितका अन्य स्थानीयमाथि पनि कुटपिट गर्दै नियन्त्रणमा राखेका थिए।
हाम्रो सुदूरपश्चिम हामी चिनाउछौँ अभियान लिएर पुगेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई ५ जेठमा सोही समूहले आक्रमण गर्ने प्रयास गरेको थियो। साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन जान हिडेको टोलीलाई ढुंगामुढा गरेपछि उनीहरू धनगढी फर्किएका थिए। सञ्चार सम्पर्क बाहिर रहेको लाम्पाटामा भएको घटना मेयरको टोली पुगेपछि मात्रै बाहिर आएको थियो। त्यसपछि दुई दिनदेखि बन्धक बनाइ कुटपिट गरेर घाइते अवस्थामा रहेकाहरूको पनि हेलीकप्टरमार्फत उद्दार गरिएको थियो। यो घटनापछि बाजुरा र हुम्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली लाम्पाटा क्षेत्रमा खटिएको छ।

