Skip to main content

नेपाल टिम स्ट्रिट डिफेन्स अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता

भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाल विजेता बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय जीत कुन्डो मार्सल आर्ट एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न तौल समूहमा स्वर्ण र रजत पदक जितेर टिमलाई उपाधि दिलाएका छन्।

पुरुषतर्फ विजय थापाले ५० देखि ५५ केजी, अमित थापाले ५५ देखि ६० केजी, सलिल थापाले ५० केजी मुनि, शुसान्त चौधरीले ६० देखि ६५ केजी, संजीव माझीले ६५ देखि ७० केजी तथा पिताम्बर मगरले ७० केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका छन्। विवेक थापाले ६० देखि ६५ केजी तौल समूहमा रजत पदक हात पारे।

महिलातर्फ निजला मगरले ४५ केजी मुनि, निलम कोइरालाले ४५ देखि ५० केजी, फुलग्याल्मो तामाङले ५५ देखि ६० केजी तथा जमुना बिकेले ६० देखि ६५ केजी तौल समूहमा स्वर्ण पदक जिते। सारिका नेपालीले ५० देखि ५५ केजी तौल समूहमा रजत पदक प्राप्त गरिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा शिवबहादुर थापा प्रमुख निर्णायकका रूपमा थिए। त्यस्तै दक्षिण एसियाली रेफ्री दीपेन्द्र श्रेष्ठ, कुमार बस्नेत र नवराज दनुवारले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए। नेपालको यो सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मार्सल आर्टको प्रतिष्ठा अझ माथि उठाएको छ।