
स्ट्रेट अफ होर्मुज मार्ग हुँदै इन्धन बोकेको थाई कम्पनीको जहाज भारततर्फ जाँदै हुँदा आक्रमणको अवस्था सिर्जना भएको छ। संयुक्त अरब इमिरेट्ससहित २२ देशहरूले स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि भएका आक्रमणहरूको कडा निन्दा गरेका छन्। संयुक्त वक्तव्यमा इरानले स्ट्रेट अफ होर्मुजलाई लगभग बन्द गरिसकेको र निहत्था जहाजमाथि आक्रमण गरेको उल्लेख गरिएको छ। ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको बताएका छन्।
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) सहित २२ देशहरूले स्ट्रेट अफ होर्मुजमा जहाजमाथि भएका आक्रमणको विरोध गर्दै संयुक्त बयान जारी गरेका छन्। संयुक्त बयानमा यूएईसहित बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, जापान, क्यानडा, दक्षिण कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणराज्य, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्।
बयानमा भनिएको छ, “हामी इरानद्वारा हालसालै भएका आक्रमणहरूलाई कडा रूपमा निन्दा गर्छौं। यी आक्रमणहरू निहत्था व्यापारिक जहाजहरूलाई लक्षित थिए। साथै तेल तथा ग्यास पूर्वाधारजस्ता नागरिक संरचनाहरूमाथि पनि आक्रमण भएको छ। इरानी सेनाले स्ट्रेट अफ होर्मुज जलडमरूमध्यलाई लगभग बन्द जस्तो बनाएको छ।”
समुद्री मार्ग स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघीय समुद्री कानुनको पनि स्मरण गरिएको छ। इरानका यस्ता गतिविधि विश्वव्यापी नागरिकहरूमा असर गर्न सक्छ, विशेष गरी कमजोर अवस्थाका समुदायहरू अझ बढी प्रभावित हुने चेतावनी दिइएको छ। ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक पहलमा योगदान दिन तयार रहेको बताएका छन्। साथै, यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको प्रयासलाई पनि स्वागत गरिएको छ।






