Skip to main content

अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमणको घोषणा गर्यो

अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ। यसको लक्ष्य इरानी क्षेप्यास्त्र स्थलहरू र बारुदी सुरुङ बिछाउने प्रयास गर्ने डुङ्गाहरू रहेको अमेरिकी सेनाको भनाइ छ। अमेरिकी सेन्ट्रल कमान्डले एक वक्तव्यमा यो आक्रमण “आत्मरक्षाका लागि” र “इरानी फौजबाट उत्पन्न खतरा रोक्न” गरिएको बताएको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले “युद्धविरामको अवधिमा अमेरिकी सेनाले संयमपूर्वक आफ्ना सैनिकहरूलाई सुरक्षा गर्दै आएको” बताएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको वार्तामा केही प्रगति भए पनि तत्कालै लडाइँ अन्त्यका लागि सम्झौता “तत्काल सम्भव नहुने” बताएपछि यस्ता आक्रमण भएको हो। न्यूयोर्क टाइम्सका अनुसार क्याप्टेन हकिन्सले स्ट्रेट अफ होर्मुजमा रहेको इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासलाई आक्रमणको निशाना बनाइएको बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन्।

इरानले अहिलेसम्म अमेरिकी आक्रमणमा कुनै प्रतिक्रिया दिएको छैन। अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो प्रभाव पार्नेछ भन्ने अझै स्पष्ट छैन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्ष सहमतिको नजिक पुगेको बताएका थिए। तर उनले वार्ताकारहरूलाई “हतार नगर्न” निर्देशन दिएको बताएका पनि छन्। इरानमा हमला हुँदा दोहामा जारी छलफल अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार सम्झौता हुन सक्ने बताएका थिए।

तर इस्माइल बाघेईले भने, “हामी धेरै विषयमा निष्कर्षमा पुगेका छौं भनेर भन्न सकिन्छ, तर तत्काल सम्झौतामा हस्ताक्षर हुने निश्चित छैन।” वरिष्ठ अधिकारीहरूको सफलतालाई महत्त्व नदिँदै गर्दा इरानका शीर्ष वार्ताकार र विदेशमन्त्रीले सम्भावित सम्झौता विषयमा कतारका प्रधानमन्त्रीसँग छलफल गर्न दोहा पुगेको रोयटर्सले जनाएको छ। अमेरिका र इरानी सेनाले अप्रिल ८ तारिखदेखि युद्धविराम पालना गरिरहेका छन्। इरानले स्ट्रेट अफ होर्मुजबाट चल्ने जहाजहरूमा नियन्त्रण राखेको छ भने अमेरिकी जलसेना इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रयासमा छ।