Skip to main content

मलेसियाले टिकटकलाई राजतन्त्रविरुद्ध भ्रामक समाचार फैलाएको भन्दै स्पष्टीकरण माग्यो

मलेसियाको इन्टरनेट नियामक निकायले राजतन्त्रविरुद्ध आपत्तिजनक र भ्रामक सामग्रीहरूका लागि टिकटकलाई कारबाही गर्न निर्देशन दिएको छ। मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बिहीबार प्रकाशित विज्ञप्तिमा राजा सुल्तान इब्राहिमसँग सम्बन्धित भनिएको एउटा नक्कली अकाउन्टलाई लिएर टिकटकलाई ‘तत्काल सुधारात्मक कदम’ चाल्न निर्देशन दिएको जनाएको छ। आयोगका अनुसार सामाजिक सञ्जाल कम्पनीले आफ्नो सामग्री परिमार्जन (कन्टेन्ट मडरेसन) नीतिलाई सुदृढ बनाउनुपर्नेछ।

यसैगरी, आर्टिफिसियल इन्टेलिजेन्सद्वारा निर्मित भिडियो र तोडमरोड गरिएका तस्बिरहरू जस्तै ‘अत्यन्तै आपत्तिजनक, झुटा, धम्कीपूर्ण र अपमानजनक’ सामग्रीहरू रोक्न असफल भएकोमा ‘औपचारिक स्पष्टीकरण’ लिन निर्देशन दिइएको छ। नियामक निकायले अनलाइन प्लेटफर्महरूमा झूटो र सार्वजनिक व्यवस्थामा अवरोध ल्याउने सामग्रीहरूको फैलावटलाई गम्भीर रुपमा लिएको जनाएको छ, विशेष गरी ती सामग्रीहरू राजतन्त्रसँग सम्बन्धित हुँदा।

यसअघि पठाइएका सूचनामा टिकटकको प्रतिक्रिया सन्तोषजनक नपरेपछि आयोगले कडा निर्देशन जारी गरेको छ। चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले स्थापना गरेको टिकटकले यस विषयमा गरिएको टिप्पणीको अनुरोधमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलेसिया, जहाँ संवैधानिक राजतन्त्र छ, सन् १९४८ मा पारित राजद्रोह कानूनअनुसार राजपरिवारविरुद्ध ‘घृणा वा अपमान’ फैलाउने अभिव्यक्तिहरूलाई आपराधिक मानिन्छ।