Skip to main content

पोखरा बसपार्कको जग्गा किनबेच छानबिनका लागि पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन

पोखरा उपत्यका नगर विकास समितिले बसपार्कको जग्गा विवाद छानबिन गर्न पूर्व न्यायाधीश शंकरराज बरालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। वि.सं. २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गाको मुआब्जा र सट्टापट्टामा अनियमितताको गुनासोपछि यो समिति गठन गरिएको हो। नवगठित समितिलाई विगत ५१ वर्षमा भएका निर्णय र कागजात अध्ययन गरी प्रतिवेदन बुझाउन १५ कार्यदिनको समय दिइएको छ। १२ जेठ, पोखरा।

पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ। समितिका अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहेका छन्। सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी तथा सदस्य सचिवमा पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी छन्।

मंगलबार बसेको कार्यपालिका बैठकले जग्गा पहिचान र छानबिन समिति गठन गरेको हो। पोखरा महानगरपालिका–९ स्थित बसपार्क निर्माणका लागि वि.सं. २०३० सालमा अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये राजमार्ग विस्तारका क्रममा करिब ९ रोपनी जग्गा प्रयोग भएपछि बाँकी रहेको १८७ रोपनी जग्गाको व्यवस्थापनसँग सम्बन्धित विषयमा विभिन्न प्रश्न उठ्दै आएका छन्। विशेषगरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको तथा सट्टापट्टा र बिक्री प्रक्रियामा अनियमितता भएको भन्ने गुनासो सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको जनाइएको छ।

समितिलाई पछिल्लो ५१ वर्षमा विभिन्न चरणमा भएका निर्णय, जग्गा सट्टापट्टा, क्षतिपूर्ति वितरण तथा सम्बन्धित कागजातहरूको अध्ययन, विश्लेषण र सत्यतथ्य परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई प्रतिवेदन बुझाउन १५ कार्यदिनको समय तोकिएको छ। साथै, लामो समयदेखि विवाद र चर्चाको विषय बन्दै आएको बसपार्कलाई अब व्यवस्थित, आधुनिक र सुविधा सम्पन्न पूर्वाधारका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ। समितिले निष्पक्ष र तथ्यमा आधारित प्रतिवेदन प्रस्तुत गरी आधा शताब्दीदेखि विवादित बनेको बसपार्क जग्गा प्रकरणको न्यायिक निरुपणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।