Skip to main content

पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा घोषणा गर्न लगानीकर्ताको माग

आगामी बजेटमा सेयर कारोबारको पूँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा घोषणा गर्न लगानीकर्ताहरूले सरकारसँग माग गरेका छन्। नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी विदेशी रणनीतिक साझेदार ल्याउन सरोकारवालाहरूले जोड दिएका छन्। गैरआवासीय नेपालीको लगानी सहजीकरण र ठूला कम्पनीलाई सेयर बजारमा सूचीकरण गर्न सुझाव दिइएको छ। १२ जेठ, काठमाडौं।

पूँजीबजारका अपेक्षा बजेटमा सम्बोधन हुने आशा छ, तर व्यवहारमा काम नहुने परम्परा वर्षौंदेखि चल्दै आएको छ। बजेट सार्वजनिक गर्न बाँकी १५ जेठ नजिकिँदै गर्दा सेयर बजारका अपेक्षा पुनः बढेका छन्। बजेट आउनुभन्दा केही दिनअघि सेयर बजारले सकारात्मक प्रतिक्रिया देखाउने गर्दछ, तर बजेटले बजारका माग सम्बोधन नगर्ने र भएपनि कार्यान्वयन नहुने समस्या हुँदा बजारको वृद्धि पनि क्षणिक हुने गरेको छ। यस पटक विगतका बजेटमा समेत नसमेटिएको एउटा विषय अहिले अवश्य समेट्नुपर्ने लगानीकर्ताको सुझाव छ — वर्तमान पूँजीगत लाभकर अन्तिम कर घोषणा गर्नु।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने, ‘बजेट आउँदा बर्सेनि पूँजीगत लाभकरका विषयमा लगानीकर्तामा तनाव पैदा हुन्छ। अहिले कायम पूँजीगत लाभकर अन्तिम कर हो भनेर बजेटमा घोषणा हुनुपर्छ।’ यसै विषयलाई बजेटमा समेटे पनि निराश अवस्थामा रहेको सेयर बजारले तुरुन्त सकारात्मक प्रतिक्रिया दिने सरोकारवालाले बताए। स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘यदि पूँजीगत लाभकर अन्तिम कर भनेर बजेटले सम्बोधन गर्यो भने कर विषयमा अन्योल हट्नेछ र बजारले तुरुन्त प्रतिक्रिया दिनेछ।’ हाल सेयर कारोबारमा तिर्ने पूँजीगत लाभकर व्यवहारमा त अन्तिम कर भएको छ, तर यसलाई कुनै नीतिगत रुपमा अन्तिम कर घोषणा गरिएको छैन।