
काठमाडौंको अल शाहिद ओभरसिजमार्फत साउदी अरब पुगेका ७० जना नेपाली चालकहरू चार महिनादेखि काम र तलब नपाएर अलपत्र परेका छन्। अलपत्र चालकहरूमध्ये केहीलाई सुरक्षा उपकरणविना श्रम कार्यमा लगाइएको छ भने कतिपयले खाना र बस्ने समस्या झेल्नुपरेको छ। वैदेशिक रोजगारीका लागि लाखौँ रुपैयाँ बुझाएर साउदी पुगेका ती पीडितहरूले न्यायका लागि त्यहाँको श्रम अदालतमा मुद्दासमेत दायर गरेका छन्।
साउदी अरब पुगेका पाँच दर्जन बढी नेपाली ड्राइभर काम नपाएर झन्डै चार महिनादेखि अलपत्र परेका छन्। काठमाडौं महानगरपालिका–४ चण्डोलमा रहेको अल शाहिद ओभरसिजबाट साउदी पुगेका उनीहरू अलपत्र परेका हुन्। उक्त ओभरसिजले साउदीमा अनुभव भएका ५० जना र नेपाली लाइसेन्स भएका १५० जना चालकको माग ल्याएको थियो। साउदीको मेहन ह्युमन रिसोर्स कम्पनीमा हेभी ड्राइभरको रूपमा गएका ६४ जनामध्ये अधिकांश नेपालीले काम पाएका छैनन्।
गत फेब्रअरीमा श्रम स्वीकृति लिएर साउदी पुगेका उनीहरूले अहिलेसम्म काम नपाएको बताएका छन्। उनीहरूलाई समूह बनाएर विभिन्न ठाउँमा राखिएको छ। साउदी तथा खाडी देशको हेभी ड्राइभर लाइसेन्स भएका केहीलाई मात्रै काममा लगाइएको छ। तर, नेपाली लाइसेन्स भएका तथा साउदीको हलुका सवारी लाइसेन्स लिएकालाई समेत अहिलेसम्म काममा पठाइएको छैन। म्यानपावरले राखेको विज्ञापनमा साउदी अरबको लाइसेन्स भएकाको हकमा मासिक तलब १ हजार ६ सय रियाल र ट्रिप भत्ताको व्यवस्था गरिएको उल्लेख छ।
साउदीको मेहन ह्युमन रिसोर्स कम्पनीको प्रतिनिधिको रूपमा अल शाहिद ओभरसिजले गरेको करारनामामा हेभी ड्राइभरको मासिक तलब १ हजार ८ सय साउदी रियाल, दैनिक ८ घण्टा र हप्तामा ६ दिन काम, एक दिन बिदा, करार अवधि २ वर्ष, खाना र बस्ने व्यवस्था कम्पनीले नै गर्ने लगायत उल्लेख थियो। नेपालमा आफ्ना समस्याबारे जानकारी गराउँदा म्यानपावरका निर्देशक राउतले समस्याको समाधान हुँदैछ भन्ने आश्वासन दिएको श्रमिक बताउँछन्।

