
समाचार सारांश
संपादकीय रूपमा समीक्षा गरिएको।
- आठौँ संस्करणको इन्टरटेनमेन्ट टेबलटेनिस टूर्नामेन्ट ६ चैत शनिबार ललितपुर नख्खुको बुल्स हेल्थ क्लबमा बिहान ९ बजेबाट सुरु हुँदैछ।
- प्रतियोगितामा महिला र पुरुष गरी ९६ जना खेलाडी सहभागी हुने ईटीटीका अध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो।
- विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो हुने खेलाडीलाई मोबाइल उपहारसमेत प्रदान गरिने आयोजकले जनाए।
६ चैत, काठमाडौं । आठौँ संस्करणको ‘इन्टरटेनमेन्ट टेबलटेनिस टूर्नामेन्ट’ यही शनिबार आयोजना हुँदैछ। यस प्रतियोगिता ललितपुरको नख्खुस्थित बुल्स हेल्थ क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
‘टेबलटेनिस राष्ट्रको लागि, स्वास्थ्यको लागि’ भन्ने नारासहित हुने कार्यक्रममा महिला र पुरुष गरी ९६ जना खेलाडीले भाग लिने ईटीटीका अध्यक्ष तथा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गीले जानकारी दिनुभयो।
प्रतियोगितामा दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको छ भने राष्ट्रिय खेलाडी र १६ वर्ष मुनिका खेलाडीहरूलाई शुल्क नलाग्ने आयोजक सुनिल शाक्यले जानकारी दिए।
हरेक खेलाडीलाई ‘स्ट्याग’ ब्राण्डको टीशर्ट पनि प्रदान गरिनेछ। प्रतियोगिताको विजेतालाई विदेश भ्रमण, उपविजेतालाई पोखरा भ्रमण र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई मोबाइल फोन उपहार स्वरूप दिइने आयोजकले जनाएको छ।






