Skip to main content

एसीको फिल्टर सफा गर्ने उपयुक्त समयावधि के हो?

समाचार सारांश: एसीको फिल्टर समयमै सफा गर्दा मेसिनको आयु बढ्ने, बिजुली बचत हुने र चिसोपनमा सुधार आइ मेसिन सुरक्षित रहन्छ। गर्मी बढ्दै जाँदा धेरैको घर तथा कार्यालयमा एयर कन्डिसनर निरन्तर चलिरहेको हुन्छ। नेपालमा पनि यसको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। एसी मात्र प्रयोग गर्नु होइन, त्यसलाई सही तरिकाले प्रयोग गर्नु पनि अत्यन्त महत्वपूर्ण छ। तर, धेरैजसोले एसीको महत्त्वपूर्ण भाग फिल्टर सफा गर्ने विषयमा बेवास्ता गर्छन्। सानो सानो बेवास्ताले ठूला समस्या निम्त्याउन सक्छ।

स्प्लिट एसीमा रहेको फिल्टरले धुलो र फोहोरलाई रोक्ने काम गर्छ। यदि फिल्टर फोहोर भयो भने हावाको प्रवाहमा बाधा आउँछ र यसले एसीको कार्यसम्पादनमा प्रत्यक्ष असर पुर्याउँछ। फिल्टर फोहोर हुँदा देखिने समस्या के-के हुन्छन्? १. चिसोपनमा कमी आउँछ। एसीको फिल्टर लामो समयसम्म सफा नगरेमा चिसोपनमा कमी आउँछ। तापक्रम कम भए पनि कोठा पर्याप्त चिसो महसुस हुँदैन र गर्मीबाट राहत कम हुन्छ। २. बिजुली खर्च बढ्छ। फोहोर फिल्टरले एसी कम्प्रेसरलाई अनावश्यक कडा मेहनत गर्न बाध्य पार्छ, जसले गर्दा बिजुली खपत बढ्छ र मासिक बिल बढी आउँछ। ३. दुर्घटना जोखिम बढ्छ। गर्मी मौसममा कहिलेकाहीं एसी विस्फोट हुने घटना सुनिन्छ। विशेषज्ञहरूले भन्छन् कि फोहोर फिल्टरले हावाको प्रवाह रोक्ने हुँदा कम्प्रेसरमा दबाब बढी हुन्छ र अत्यधिक तापक्रम उत्पन्न गरी विस्फोटको जोखिम बढाउन सक्छ।

एसीको फिल्टर कति समयमा सफा गर्ने? फिल्टर सफा गर्ने समय तपाईंले एसी कति समय चलाउनुहुन्छ भन्नेमा निर्भर गर्दछ। दैनिक ५ देखि ७ घण्टा चलाएमा प्रत्येक ६ देखि ८ हप्तामा फिल्टर सफा गर्नुपर्छ। यदि दैनिक १० देखि १२ घण्टा चलाएमा प्रत्येक ३ देखि ४ हप्तामा फिल्टर सफा आवश्यक हुन्छ। लगातार प्रयोग गर्दा फिल्टर चाँडै फोहोर हुन्छ, विशेष गरी सडक छेउ वा धेरै धुलो पर्ने वातावरणमा छिटो फोहोर हुन्छ र सफा गर्ने समय पनि छोटो पार्नुपर्छ। नियमित रूपमा फिल्टर सफा गर्दा एसीको चिसोपन सुधारिन्छ, बिजुली बचत हुन्छ र मेसिनमाथि पर्ने दबाब कम हुन्छ। यसले एसीको आयु लामो बनाउँछ र टिकाउपन पनि बढाउँछ।