Skip to main content

नेपालको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा परियो

नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट ६० विश्वव्यापी नवप्रवर्तन सूचीमा समावेश भएको छ। विश्वभरका ९०० भन्दा बढी प्रविधिमूलक नवप्रवर्तनमध्ये प्रतिस्पर्धा गर्दै यो नेपाली नवप्रवर्तन उत्कृष्ट सूचीमा पर्न सफल भएको हो। बोट्स इन्डस्ट्रिजले विकास गरेको यस प्लेटफर्मले एआई प्रविधिको माध्यमबाट वायु गुणस्तरको वास्तविक समय जानकारी उपलब्ध गराउँछ। १३ जेठ, काठमाडौं। नेपालका युवा प्रविधि उद्यमीहरूले विकास गरेको ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा समावेश भएको छ। जलवायु–प्रविधि (क्लाइमेट–टेक) क्षेत्रमा काम गर्दै आएको यस नेपाली नवप्रवर्तनलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभाग (यूएन डेसा) ले तयार पारेको ‘एसटीआई सोलुसन्स बुक २०२६’ मा राखिएको हो।

विश्वभरबाट प्राप्त ९०० भन्दा बढी प्रविधिमूलक तथा डिजिटल नवप्रवर्तनबीच प्रतिस्पर्धा गर्दै ‘वायुदृष्टि’ उत्कृष्ट ६० नवप्रवर्तनको सूचीमा पर्न सफल भएको हो। दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न योगदान पुर्‍याउने, व्यावहारिक तथा विश्वभर विस्तार गर्न सकिने समाधानका रूपमा यसको छनोट गरिएको यूएन डेसाको आधिकारिक वेबसाइटमा उल्लेख छ। नेपालमा विकास गरिएको यो प्लेटफर्मले वायु प्रदूषणलाई वैज्ञानिक र सहज तरिकाले सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्य राखेको छ। कम लागतका वायु गुणस्तर मापन उपकरण, भू–उपग्रहबाट प्राप्त डाटा, जमिनमा जडित सेन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत यसले वास्तविक समयको वायु गुणस्तर जानकारी उपलब्ध गराउँदै आएको छ। ‘वायुदृष्टि’ बोट्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड अन्तर्गत विकास गरिएको हो। यसका संस्थापक नुवाकोट शिवपुरी गाउँपालिका–७ का सक्रिय पाण्डे तथा सहसंस्थापक श्रीषा पाण्डे हुन्।