कानून मन्त्री सोविता गौतमसँग इजरायलका राजदूत श्मुलिक एरी बासको औपचारिक भेट

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री गौतमले न्यायमा सहज पहुँचका लागि तीन तहका कानूनहरूको एकीकृत डिजिटल प्लाटफर्म निर्माण भइरहेको जानकारी गराइन। नेपालले एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता र संक्रमणकालीन न्यायमा इजरायलसँग सहकार्य गर्न इच्छुक छ। १३ जेठ, काठमाडौं।
नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६६ औं वर्षमा प्रवेश गर्दै गर्दा, इजरायल सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मार्फत अन्य मन्त्रालयहरूसँग पनि सहकार्य गरी दुई देशबीचको सम्बन्धलाई औपचारिक रूपमा बलियो बनाउन कानूनी दस्तावेजहरू निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री गौतमले न्यायमा सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले नेपालको तीन तहका कानूनहरूमाथि एउटै प्लेटफर्मबाट पहुँच हुने गरी डिजिटाइजेसन चलिरहेको जानकारी गराईन्। एकीकृत कानूनी सहायता, पारस्परिक कानूनी सहायता, संक्रमणकालीन न्याय र संसदीय मामिलाहरूमा इजरायल सरकारसँग सहकार्य गर्न नेपाल तत्पर रहेको मन्त्री गौतमले छलफलका क्रममा उल्लेख गरिन्।

