
कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा उत्पन्न विवादका कारण बैठक १६ जेठसम्मका लागि स्थगित गरिएको छ। सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी सांसदहरूले सदनमा अवरोध गरेका छन्। विवादका क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोष्ट्रममा पुगेर माइक खोस्ने प्रयास गर्दा मर्यादापालकहरूले रोकथाम गरेका थिए। १३ जेठ, विराटनगर।
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा उत्पन्न विवादका कारण प्रदेशसभा बैठक जेठ १६ गतेसम्मका लागि स्थगित गरिएको छ। बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले अवरोध र रोष्ट्रम घेराउ गरेपछि सभामुख अम्बरबहादुर विष्टले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। पछि बैठक बस्न नसक्दा सूचना टाँस गरी स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार, अर्को बैठक जेठ १६ गते दिउँसो १ बजे बस्नेछ।
मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिइ नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए। उनीहरूको दाबी छ कि आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नु संसदीय मर्यादाविपरीत हो। बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदको स्थापित मान्यता तोडेर अघि बढ्न नहुने बताए।
सभामुखले प्रतिपक्षीको अवरोधका बाबजुद कार्यसूची अघि बढाउन खोज्दा सदन तनावपूर्ण बनेको थियो। सभामुखले जसपा सांसद निर्मला तावा लिम्बूलाई बोल्ने अवसर दिएपछि आक्रोशित पूर्वमुख्यमन्त्री तथा नेकपा सांसद राजेन्द्र राई रोष्टमतिर दौडिएका थिए। उनले रोष्ट्रममा पुगेर माइक खोस्ने प्रयास गर्दा मर्यादापालकहरूले रोकथाम गरेका थिए। विवादबीच सभामुख विष्टले भने नियमावली अनुसार प्रक्रिया अघि बढेको दाबी गरे।
‘बहुमत’ दाबीको मूल विषय पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राईले नीति तथा कार्यक्रम पारित गर्दा सभामुखमा सत्तापक्षको छाया परेको बताए। उनले सभामुखले विधि र संसदीय प्रचलनभन्दा बाहिर गएर काम गरेको बताउँदै भने, ‘हिजो संशोधनको समय पनि दिइएन र आज विरोधका बाबजुद प्रक्रिया अघि बढाइयो।’ प्रतिपक्षीको माग छ कि सदनबाट पारित नीति तथा कार्यक्रमलाई ‘सर्वसम्मति’ होइन, बहुमतको प्रक्रियाबाट पारित भएको भन्नुपर्ने छ।

