
१४ वैशाख, सप्तरी। सप्तरीको बोदेबरसाईन नगरपालिका–८ अन्तर्गत काचन गाउँमा सुरक्षित सुत्केरीका लागि निर्माण भइरहेको बर्थिङ सेन्टरको कार्य चार वर्षदेखि अलपत्र परेको छ। उक्त निर्माण कार्य बजेट अभावका कारण रोकिएको हो। संघीय निर्वाचन विकास क्षेत्र कार्यक्रमअन्तर्गत सुरु गरिएको यो बर्थिङ सेन्टर, निर्वाचन विकास क्षेत्र कार्यक्रम बन्द भएपछि कार्यरूपमा अटका परेको हो। भवन निर्माणका लागि तत्कालीन प्रतिनिधिसभा सदस्य तथा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बजेट विनियोजन गरेका थिए। तर पछिल्लो समयमा नगरपालिकाले पनि बर्थिङ सेन्टर भवनका लागि कुनै बजेट छुट्टाएको छैन।
प्रसूति भवन नजिक नरहुँदा स्थानीय महिला स्वास्थ्य परीक्षण र प्रसूति उपचारका लागि बाहिर जान बाध्य छन्। आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ सम्म उपभोक्ता समिति गठन गरी रु ६० खर्चिएको बोदेबरसाईन नगरपालिकाले यस योजनाप्रति पछिल्लो समयमा अपनत्व नराखेपछि नेपाल सरकारको लगानी खेर जान थालेको छ। स्थानीयहरूले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाको जिम्मेवारी कति छ भन्ने विषयप्रति अस्पष्टता रहेको बताएका छन्।
बोदेबरसाईन नगरपालिका–८ का वडाअध्यक्ष बैजनाथ चौधरीले निर्वाचित भइसकेका चार वर्ष बित्न लाग्दा पनि अधुरो बर्थिङ सेन्टरको निर्माण पूरा गर्नुपर्ने भएपनि नगरपालिकाको कार्यपालिका बैठकमा अहिलेसम्म कुनै प्रस्ताव समेत प्रस्तुत नभएको बताएका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माका अनुसार अधुरो भवनमा पार्टीसन, झ्याल–ढोका, रंगरोगन र कमपाउण्डको पर्खाल बनाउनु बाकी छ। उनले आगामी नगरसभादेखि बजेट विनियोजन भए बर्थिङ सेन्टरको निर्माण पूर्णता मिल्ने जानकारी दिए।
काचन बर्थिङ सेन्टर निर्माण उपभोक्ता समिति अध्यक्ष अरुण चौधरीले निर्वाचन क्षेत्र विकास कार्यक्रम समाप्त भइसकेपछि पनि स्थानीय सरकारले बजेट विनियोजन गरी बर्थिङ सेन्टर सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यक रहेको बताए। स्थानीय बिलट दासले नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालनका लागि बजेट छुट्याउन कुनै चासो नदेखाएको आरोप लगाएका छन्। यस्तै, बोदेबरसाईन नगरपालिका–९ स्थित सिमरहा बर्थिङ सेन्टर भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ। सो भवनमा पनि पलास्टर, झ्याल, ढोका, रंगरोगन र कमपाउण्डको पर्खाल बनाउनु बाँकी रहेको छ। वडा नम्बर–१० स्थित खडकपुर बर्थिङ सेन्टर भवन भने बनेको छ, तर नगरपालिकाले सञ्चालनमा ल्याउन सकेको छैन।

