
१४ जेठ, काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसियन हाइवे मापदण्ड अनुसार विस्तार भइरहेको छ। महेन्द्र राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा–लौकही खण्डमा अहिले सोही मापदण्डअनुसार काम भइरहेको छ। यद्यपि, राजमार्ग विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ। निर्माण कम्पनीका अनुसार इन्धन मूल्य बृद्धि र निर्माण सामग्रीको अभावले यस खण्डको विस्तारमा अवरोध पुगेको छ। नेपाल–भारत सीमास्थित मेची नदीमा चार लेनको पुल निर्माण भएपछि नेपाल ६ वर्ष अगाडि नै ए ग्रेडको एसियन हाइवेमा जोडिएको हो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग एसियन हाइवेको रुट–२ मा पर्दछ भने वीरगञ्ज–कोदारी खण्ड रुट–४२ मा पर्छ।
महेंद्र राजमार्गको काँकडभिट्टा-लौकही खण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले कार्य गर्दैछ। यस खण्डमा २२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रक लागि बेस बिछ्याउने काम भइरहेको छ भने कतै कालोपत्रक काम पनि सुरु भइसकेको छ। पूर्वी खण्डको काँकडभिट्टा–सीतापुरी कुल ४५ किलोमिटर लम्बाइमा १० अर्ब ९४ लाख रुपैयाँ लागतमा सडक निर्माण कार्य भइरहेको छ। यस खण्डको ठेक्का २ कात्तिक २०८० मा तोकिएको हो।

