
युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबारको बहस मार्फत चीनप्रतिको आर्थिक दृष्टिकोण थप कडा बनाउने तयारीमा छन्। व्यापार आयुक्त मारोस सेफ्कोभिचले चिनियाँ आपूर्ति शृङ्खलामा निर्भरता घटाउन नयाँ विविधीकरण संयन्त्र प्रस्ताव गर्ने योजना बनाएका छन्। औद्योगिक मामिला प्रमुख स्टेफेन सेजुर्नीले चिनियाँ कम्पनीहरूको कारण बजारमा परेको असर रोक्न वैदेशिक अनुदान नियंत्रण नियमावलीको व्यापक प्रयोगको पक्षमा छन्।
१४ जेठ, काठमाडौं। युरोपेली कमिसनका नेताहरू आगामी शुक्रबार हुने महत्त्वपूर्ण बहसमा चीनप्रति युरोपेली संघको आर्थिक दृष्टिकोण कडा पार्ने तयारीमा छन्। यसले यसै वर्षको अन्त्यतिर व्यापार तथा औद्योगिक उपायहरूको नयाँ लहर शुरु गर्ने बाटो खोल्नेछ। स्रोतहरूका अनुसार ब्रसेल्समा अहिले ‘चाइना शक २.०’ अर्थात् ‘डि-इन्डस्ट्रियलाइजेसन’ को डर बढ्दो छ। अध्यक्ष उर्सुला भोन डेर लेयनसहित २७ आयुक्तहरूमध्ये अधिकांशले थप कडा व्यापार तथा औद्योगिक नीति पक्षमा रहेको जनाइएको छ।
व्यापार आयुक्त मारोस सेफ्कोभिचले नयाँ ‘विविधीकरण संयन्त्र’ (डाइभर्सिफिकेसन इन्स्ट्रुमेन्ट) प्रस्तुत गर्ने योजनामा छन्, जसले चिनियाँ आपूर्तिमाथिको अत्यधिक निर्भरतालाई कम गर्ने प्रयास गर्दै महत्वपूर्ण क्षेत्रका कम्पनीहरूलाई दुई वा सोभन्दा बढी देशबाट तीन वा सोभन्दा बढी आपूर्तिकर्ता सुनिश्चित गर्न अनुरोध गर्नेछ। औद्योगिक मामिला प्रमुख स्टेफेन सेजुर्नीले वैदेशिक अनुदान नियन्त्रण नियमावली (फरेन सब्सिडीज रेगुलेसन – एफएसआर) को व्यापक अवलम्बनको पक्षमा छन्।
यस संयन्त्रलाई अहिलेसम्म व्यक्तिगत कम्पनीहरूविरुद्ध प्रयोग गरिँदै आएको भए पनि फ्रान्सेली आयुक्त सेजुर्नीले अनुदान प्राप्त चिनियाँ कम्पनीहरूको कारण बजारमा आएको भनिएको ‘मार्केट डिस्ट्रोसन’ विरुद्ध यसलाई क्षेत्रीय र बृहत रूपमा प्रयोग गर्न चाहन्छन्। ती दुवै अधिकारीहरू सेफगार्ड मेजर्सको बढी प्रयोगको समर्थन गर्छन्, जसलाई आपूर्ति अतिवृद्धि अवस्थामा ट्यारिफ वा कोटा लगाउन सकिने आपतकालीन उपायको रूपमा हेरिन्छ। रसायन र मेसिनरी क्षेत्रलाई लक्षित गर्दै सेफगार्ड मेजर्सको प्रयोगबाट एन्टी-डम्पिङ तथा एन्टी-सब्सिडी अनुसन्धानलाई करिब ६ महिनामा सीमित गर्न सकिने योजना छ। उनीहरूको मुख्य चिन्ता चिनियाँ प्रतिस्पर्धीहरूको तीव्र वृद्धिको कारण केही वर्षभित्रै युरोपको औद्योगिक आधार व्यापक क्षति हुनसक्ने हो। यी चिनियाँ कम्पनीहरूले मूल्य र गुणस्तर दुवैमा चीन, युरोप र विश्वका अन्य बजारमा आफ्ना युरोपेली प्रतिस्पर्धीहरूलाई पछि पारिरहेका छन्।

